निद्रा नपरेको रात - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निद्रा नपरेको रात



खोइ किन हो किन,
आँखाको माथिल्लो र
तल्लो परेलीले केही
कसम खाए जस्तो,
कतै बाट
वक्सित पाए जस्तो
मिलनको त कुरै ल्याउँदैनन्
गाँठे..
उक्ली छतमा नियाले तारा
देखेँ झलमल्ल
परि अलमल्ल,सोध्दै उनैलाई
के भो तिमीहरूलाई अघायौकि
जिन्दगी हेरी सबै धोखा फेरी,
झिम झिम गर्दा किन बिर्सिन्नौ
टिपिक्क टाँसिन
एक आपसमा गाँसिन
किन बिरक्तिन्छौ हँ तिमीहरू,
म त बिरक्तिएको छैन
हेरेको छु रमिता
लुटिएको अस्मिता
गरेका छन् अत्याचार
भएको छ भ्रष्टाचार र पनि
म रमिते बनेकै छु
अनि स्वाभिमानी भनेकै छु
के खोजेका छौ हँ तिमीहरू..
तिमीहरूलाई,
देशको सिमानाले सतायो कि,
कि कसैले देशको अस्मिता लुटिंदैछ
भनेर बतायो कि,
कि सत्ताका पहरेदार बिके
राष्ट्रियता झिके
कु नियत सिके भनेर चिन्ता
अनि किन गर्दै छौ हँ
विद्रोह?
मलाई सुत्नु पर्छ, आराम गर्नु पर्छ
किन बिर्सेको हँ तिमीहरूले
आफ्नो धर्म
स्वाभिमानी नेपालीको मर्म
बिहानै सुरु गर्नुपर्छ आफ्नो कर्म
जाऊ न बरु,
अपराधको कमण्डलु भिरेकाहरूको निद्रा
हराम गर्न,
बाध्य पार तल तल झर्न,
देशको सिमाना काटी
सात समुन्द्र तर्न, या त बाध्य पार मर्न,
र पो बहादुर हुनेछौ,
स्याबासी लिनेछौ !!