तारकेश्वर पेपरलेस पालिका बन्दै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तारकेश्वर पेपरलेस पालिका बन्दै



काठमाडौ-काठमाडौको तारकेश्वर नगरपालिका पेपरलेस बनाउने तयारी थालिएको छ । स्मार्टपालिकाको प्राविधिक सहकार्यमा डिजिटल नगरपालिका बनाउने गृहकार्यको थालनी गरिएको बताइएको छ ।

जनतालाई हातहातमा सेवा दिने उदेश्य स्वरुप नगरपालिकाले ई-सिफारिस सहितका डिजिटल सेवा सुचारु गर्न सुरु गरेको हो। पालिकाले वडा नम्बर ७ फुटुङको कार्यालयबाट मोबाइल मार्फत बैंक खाता बन्दको सिफारिसलाई डिजिटल रुपमा सुरुवात गर्दै वडा अध्यक्ष सानुकाजी खत्रीले यसको सुरुवात गरेका हुन् ।

स्मार्टपालिकाको प्राविधिक सहकार्यमा नगरले ११ वडाबाटै ई- सिफारिस सहित डिजिटल पेमेन्टको अबधारणा अगाडि बढाएको र दोश्रो चरणको काम सुरु भएको नगर प्रमुख कृष्णहरि महर्जनले बताए।

सबै वडालाई पेपरलेस बनाउने अवधारणा अघि सार्दै नगरले भुक्तानी अनलाईनबाट गर्ने र सिफारिस पनि मोबाईलबाटै प्राप्त गर्नेछन् । जसमा हरेक वडाका अध्यक्ष सहित कर्मचारीलाई तालिम र अभिमुखिकरण गरिएको छ।

‘जनता वडा वा नगरपालिका धाउने बाध्यतालाई यो सुशासन प्रणालीले अन्त्य गर्नेछ भन्ने बिश्वास लिएका छौ’, मेयर महर्जनले भने । संसार डिजिटल र स्मार्ट बन्ने तर्फ अग्रसर हुँदा तारकेश्वर पनि प्रविधिमैत्री नगर बनाउने अभियान चलाइएको उप प्रमुख सृजना बुर्लाकोटी अर्यालले बताइन् ।