तास्मानियामा पुग्यो अनेसास - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

तास्मानियामा पुग्यो अनेसास



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को फैलावट तास्मानियासम्म पुगेको छ । हालै अनेसास तास्मानिया च्याप्टर गठन भएपछि यो फैलावट भएको हो ।

नेपाली भाषा र साहित्यको सेवामा समर्पित अनेसासले तास्मानियामा रहेका साहित्यप्रेमी तथा लेखकहरुलाई एक ठाउँ ल्याउने उद्धेश्य सहित नयाँ च्याप्टरको गठन गरेको हो ।

नवगठित च्याप्टरको अध्यक्षमा प्रकाश पन्थी, उपाध्यक्षमा गायत्री पाण्डेय, सचिवमा सुरेन्द्र खरेल (सुबिन) र कोषाध्यक्षमा सरोज तामाङ तथा सदस्यहरूमा तोयाराज भट्टराई, विजय भट्टराई र अस्मिका श्रेष्ठ लगायत रहेका छन् ।

लामो समयदेखि च्याप्टर गठनको प्रक्रिया अघि बढेको भए पनि २०२२ अगष्ट २० शनिवारबाट औपचारिक रुपमा सुरुवात भएको अनेसास उपाध्यक्ष (ओसिआनिया) महेश्वर शर्माले बताए ।

समितिले संगठन विस्तार पश्चात अनेसास तास्मानियाको पहिलो कार्यक्रमको रुपमा साहित्यकार सुबिन खरेलको पहिलो उपन्यास ‘फेरिएको माया’को विमोचन समेत गरिएको छ । कार्यक्रममा उपन्यासकार खरेललाई बधाईँ दिँदै नवगठित समितलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

१५ वर्ष नेपाल बसेका तास्मानीयका स्थानीय नागरिक जेनेट र केशब भट्टराईले पुस्तकको सयुंक्त रुपमा विमोचन गरेका थिए । उक्त अवसरमा नेपालबाट आएका अभिभावक रामप्रसाद चिमोरियाले शुभकामना तथा धन्यवाद मन्तव्य दिएका थिए ।

कार्यक्रममा अनेसासका अध्यक्ष प्रकाश पन्थीले संस्थाले गर्ने कामहरु र नेपाली साहित्यको प्रवर्धनमा गरिरहेका कार्यहरुका विषयमा प्रकाश पारेका थिए ।

च्याप्टर गठनको खुशीमा अनेसासका केन्द्रीय अ‍ध्यक्ष गोवर्द्धन पूजाले शुभकामना सन्देश पठाएर सफलताको कामना गरेका थिए । उनले भनेका छन् -‘जहाँ रहे पनि मातृभूमिप्रतिको अगाढ माया र शद्भाव‍ले भरिएको प्रेम नै यो स्थापनाको कारण हो । कर्मले जहाँ-जहाँ डोर्याए पनि मनमा नेपाली पन र जीवनमा नेपाली चलन साँच्न सक्नु हाम्रो मूल विशेषता हो ।

यसैका कारण हामी नेपाली , नेपाली भाषाका लागि सदैव सचेत छौँ ।

आगामी दिनमा अनेसास केन्द्र र तास्मानिया च्याप्टरको सहकार्यका अनेसासको नयाँ यात्राको खोजीमा लाग्ने प्रतिवद्दताको अपेक्षसहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

च्याप्टर गठनपश्चात अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उपस्थित महानुभावहरुले विभिन्न प्रश्नहरु गरेका थिए । कार्यक्रमको सञ्चालन सागर भण्डारीले गरेका थिए ।