ज्यानमारा शिक्षकले मर्नेगरी विद्यार्थी पिटे - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ज्यानमारा शिक्षकले मर्नेगरी विद्यार्थी पिटे



हिमालपोस्ट/काठमाडौँ

शिक्षकको कुटाइबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । ती विद्यार्थी गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका थिए। कक्षा–९ मा अध्ययनरत ती छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले दिए ।

प्रहरी निरीक्षक भट्टले भने, “यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो। त्यसबेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको थियो ।”

विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मङ्गलबार राति नै प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइसकेको बताएको छ । भट्टले भने, “शव भारतबाट आइसकेपछि परीक्षणलगायतका प्रक्रिया अघि बढ्छ। पीडित पक्षको जाहेरीका आधारमा कारवाही अघि बढ्छ ।”

प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका अभिभावकले भने प्रधानाध्यापकसहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । कुटपिटबाट विद्यार्थीको छाती र टाउकामा चोट लाग्नुका साथै दायाँ खुट्टा पनि भाँच्चिएको थियो ।