गाउँपालिकाले १३ जना शिक्षकलाई सेवाबाट हटाएपछि खुल्यो यस्तो रहस्य - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गाउँपालिकाले १३ जना शिक्षकलाई सेवाबाट हटाएपछि खुल्यो यस्तो रहस्य



एक गाउँपालिकाले १३ जना शिक्षकलाई सेवाबाट हटाएको छ। मोरङको कटहरी गाउँपालिकाले प्रक्रिया पूरा नगरी नियुक्त गरेको भन्दै १३ जना शिक्षकलाई सेवाबाट हटाएको हो ।

शिक्षकहरूलाई दिइएको रकम बेरुजु देखिएका भन्दै पालिकाले साउनदेखि नै तलब पास नगरि उनीहरूलाई सेवाबाट हटाएको छ । महालेखा परीक्षकको कार्यालयले १३ शिक्षकको तलबमा गएको रकम बेरुजु देखाएको थियो ।

गाउँपालिकाले उनीहरूलाई साउनदेखि सेवाबाट हटाएको खुलेको छ । गाउँपालिका अध्यक्ष देवराज चौधरीले उनीहरूलाई हटाएपछि पिडितहरूले अध्यक्षलाई भेटेका छन्।

पालिकाले सेवाबाट हटाएपछि कर्मचारी र शिक्षकले घुष खाएको रहस्य समेत भेटिएको छ । शिक्षकको तलब पास नगरेर हटाएपछि पीडितहरूले अध्यक्ष चौधरीलाई भेटेर नियुक्ति प्रक्रियाका वेला आफूहरूले कर्मचारी र शिक्षकलाई घुष समेत दिएको बताएका छन्। 

हालका अध्यक्ष चौधरीले भने शिक्षक नियुक्त गर्ने विषयमा भएका निर्णय र आवश्यक कागजात फेला नपरेको बताएका छन्। गाउँपालिकाले २०७५ सालमा नौ वटा विद्यालयमा १३ जना शिक्षक नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

गाउँपालिकाले रामजानकी आधारभूत विद्यालयमा सारोकुमारी सरदार र शान्तिकुमारी माझी, अम्बर आधारभूत विद्यालयमा दयावतीकुमारी सरदार, अनन्त आधारभूत विद्यालयमा कविताकुमारी राजवंशी र सरस्वती शिशु सदनमा ममता गौतमलाई नियुक्त गरेको थियो।

आधारभूत विद्यालय खयरवनामा नीरजकुमार साह र दिलीपकुमार साह, भगवती आधारभूत विद्यालयमा सरस्वती राजवंशी र विजयकुमार साह, राधाकृष्ण आधारभूत विद्यालयमा शसिताकुमारी मगर, सुन्दर आधारभूत विद्यालयमा तारा कार्की तथा जनता माविमा जगतनारायण माझी र कुम्भनारायण सरदारलाई नियुक्त गरिएको थियो।

जनता माविका प्रधानाध्यापक रामनारायण विश्वास गाउँपालिकाको आदेशमा विद्यालयले सबै प्रक्रिया पूरा गरेर शिक्षक नियुक्त गरे पनि पालिकाको कमजोरीले समस्या आएको बताउने गरेका छन्।