रसुवा कारागारमा पुस्तकालय तथा निशुल्क स्वास्थ्य शिविर - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

रसुवा कारागारमा पुस्तकालय तथा निशुल्क स्वास्थ्य शिविर



रसुवा/फागुन- एक सामाजिक संस्था टिम नेपोले कारागार कार्यालय रसुवामा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि शुक्रबार एक कार्यक्रमका बिच पुस्तकालय स्थापना गर्दै दुई दिने नि:शुल्क स्वास्थ्य शिविर आज समापन गरेको छ ।

कारागार सुधार परियोजना अन्तर्गत नेपालका कारागारहरूमा पुस्तकालय स्थापना गर्दै आएको उक्त संस्थाले कैदीहरूको पुनर्स्थापना, पठन संस्कृतिको प्रवर्द्धन र कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्ने उद्देश्यसहित उनीहरूलाई सूचना र शिक्षाको अधिकार सुनिश्चिता दिने लक्ष्य राखेको छ ।

कार्यक्रमको प्रमुख अतित्यथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले गरेका थिए भने कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा. निगम पौडेल, डि.एस.पी सुवास बुढाथोकी, इन्स्पेक्टर विष्णु प्रदीप बस्याल र जेलर हरिराम न्यौपाने पनि उपस्थित थिए । कैदीबन्दी तथा संस्थाका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्र.जि.अ. अधिकारीले कारागारलाई सुधार केन्द्रको रुपमा स्थापित गर्न गरेको प्रयासका लागि परियोजना आयोजक टिम नेपोलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै कारागारमा रहेका कैदीबन्दीलाई किताब पढ्नमा समय लगाउन आग्रह गरे भने जेलर हरिराम न्यौपानेले कारागारमा पुस्तकालय स्थापनाले कैदीबन्दीहरुको सकारात्मक विचार प्रवर्दन गर्नुका साथै सहि मार्गदर्शन दिने कुरामा विस्वस्थ रहेको बताए । उनले लामो समयको प्रयास पछि कारागारमा पुस्तकालय स्थापना भएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्थालाई धन्यवाद दिए ।

टिम नेपोका संस्थापक अध्यक्ष डा. निगम पौडेलले आख्यान तथा गैरआख्यान, जीवनउपयोगी, अध्यात्मिक, सेल्फ हेल्प र सीप मुलक गरि विभिन्न विधाका ५०० थान पुस्तक, सोधपत्र तथा पत्रिका हस्तान्तरण गरे भने संस्थाका कोषाध्यक्ष नवीन खनालले १०० थान नोटबुक र कलम हस्तान्तरण गरेका थिए । डा. पौडेलले प्रकाश गर्दै भने, “जेलमा रहेका पुस्तकहरूले मानिसको जीवनमा सकरात्मक परिवर्तनका साथै पढ्ने बानी मानसिक स्वास्थ्यका लागि पनि निकै हितकर हुन्छ । वास्तविकताबाट उम्कने र कारागारमा समय व्यतित गर्दैगर्दा समसामयिक विषय एवम् सुचना सँग परिचित हुने अवसर पुस्तकहरूले प्रदान गर्दछन् । कारागारलाई सजाय केन्द्र नभई सुधार केन्द्रको रुपमा स्थापित गर्नका निम्ति यस परियोजनाले हालसम्म ६ कारागारमा पुस्तकालय स्थापना गरिसकेको छ । ” कैदीहरूलाई सम्बोधन गर्दै उनले उपलब्ध गराइएका पुस्तकहरूको बढीभन्दा बढी सदुपयोग गर्न अपिल गर्नुका साथै जेलमा समय व्यतित गर्दाका आफ्ना अनुभव, भोगाई, सकारात्मक तथा नकरात्मक भावना, समस्या एवम् तनावहरुलाई शब्दमा उतारी दैनिकी लेख्न प्रोत्साहन गर्नका निम्ति कैदीबन्दीहरुलाई उक्त नोटबुकहरू उपलब्ध गराइएको जनाउदै सहयोगी संस्थाहरु एथिक्स फ्रम दि डाइभर्स परस्पेक्टिभ र ग्लोबल हब एजुकेशनल नेटवर्कलाई धन्यवाद दिए ।

अभियानअन्तर्गत यसअघि अर्घाखाँची, स्याङ्जा, तनहुँ, अछाम, चितवन र दाङका कारागारमा पुस्तकालय स्थापना गरिएको छ । रसुवामा उक्त परियोजनले ७२ कैदीबन्दी (६४ पुरुष र ८ महिला) लाभान्वित हुने भएका छन् ।

पुस्तकालय स्थापना भए सगै कैदीबन्दीका लागि दुईदिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै संस्थाकि कार्यक्रम संयोजक सुश्री सरिना सुवेदीले महिला कैदीहरूलाई १०० थान सेनेटरी प्याड हस्तान्तरण गरेकी हुन् । उक्त शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप तथा सुगर जाँच र औषधिहरू नि:शुल्क वितरण गराइएको थियो भने थप टेस्ट तथा उपचार आवश्यक पर्ने बिरामीहरूलाई जिल्ला अस्पताल तथा केन्द्रीय कारागार अस्पतालमा रेफर पनि गरिएको डा. पौडेलले बताए ।

७२ कैदीबन्दी तथा कारागारका सुरक्षाकर्मी र अन्य कर्मचारीसहितले सेवा लिएको उक्त शिविर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवा तथा कारागार कार्यालय रसुवाको सहयोगमा आयोजना गरिएको थियो ।