डब्लूएचओका महानिर्देशक टेड्रोस आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

डब्लूएचओका महानिर्देशक टेड्रोस आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज अपराह्न १२ः२५ बजे नेपाल आउन लागेका हुन् ।

महानिर्देशक टेड्रोसका साथ डब्लूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लूएचओका अन्य अधिकारीहरू आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् ।

नेपालमा रहँदा टेड्रोसले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।