तीजको नाममा हुने विकृति बारे यसो भन्छन महिला कलाकार ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तीजको नाममा हुने विकृति बारे यसो भन्छन महिला कलाकार !



हिन्दु महिलाको महान् पर्व तीज हाम्रो घर अागनमै आइपुगेको छ । भाद्र शुक्ल तृतीयाको दिनमा शिवको पूजाआराधना गरेर व्रत गरेर महिलाले तीज मनाउने गरिन्छ । महान् सांस्कृतिक परम्पराअन्तर्गत तीज नेपाली नारीको महत्त्वपूर्ण चाड हो । जीवन जगतका विविध आयामलाई गीतमार्फत व्यक्त गर्ने अभिव्यक्तिको सांस्कृतिक परम्पराको रूपमा तीज पर्व शिव उपासनाको महत्त्वपूर्ण पर्वको रूपमा नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको देखिन्छ ।महान् सांस्कृतिक परम्परा बोकेको तीज मनाउने प्रचलनमा र गीत सङ्गीतमा दिनप्रतिदिन परिवर्तन आइरहेको छ ।

तीजका गीतमा सुनिने गम्भीर भाव चेलीका अनुभूतिको मर्म, मीठो लय, आफूले प्रत्यक्ष भोगेका पीडाको अभिव्यक्ति र तिनै अनुभूतिलाई सिर्जनामा उनेर श्रोतालाई जीवनका सुखदुःख, हर्ष, विस्मात तथा आशा र निराशाको अभिव्यक्ति गर्ने एउटा सरल माध्यमलाई अहिले अलि हल्का र उत्ताउलो ढङ्गले प्रस्तुत गरिँदै आएका छन् । यसै बिचमा तीज पर्वलाई नै लक्षित गर्दै हिमाल पोस्टका लागि  समीर प्रकाश पाण्डेले केही महिला कलाकारहरूको विचार तयार पारेका छन् हेरौ के भन्छन् त कलाकारहरू !

तीज विशेष स्तम्भको लागि हाम्रो प्रश्न  यस्तो छ ।

“विगत केही वर्ष देखि आधुनिकताको नाममा ,परिवर्तनको बाहानामा अनि सस्तो लोकप्रीयता ,सजिलो आय आर्जनको लोभमा , तीज जस्तो पवित्र चाडलाई विकृति र बिसंगति सिकार बनाईदै छ ,यस्ता गलत क्रियाकलापहरू रोक्न के गर्नु पर्ला ?

देवी घर्ती मगर (लोक दोहोरी गायिका):कुनै पनि कुराको प्रगति सँग सँगै सकारात्मक र नकारात्मक कुराहरू त पक्कै पनि हुन्छन् । मेरो बिचारमा केही वर्ष यता तीजका गीतहरुमा केही मात्रामा विकृति त देखिएको न‌ै छ यसमा कलाकारले आफू कुन धरातलबाट आएको हो आफू कुन विधाको कलाकार भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन । हाम्रो समाज कस्तो समाज हो बुझौ ,समाजले पचाउन सक्ने सृजना गरौँ र हाम्रो सस्कृती लोप हुन नदिउँ । अहिले सेन्सर छैन गीत सङ्गीत को छिट्टै सेन्सर सिस्टम लागु हुन जरुरी छ ।

देवीका के .सी गुरुङ (लोक दोहोरी गायिका):तीज भन्ने बित्तिकै हामी महिला दिदी बहिनीहरुको महान् पर्व भन्ने बुझिन्छ।यसै पनि हाम्रो देश प्राकृतिक सौन्दर्यताले भरिपूर्ण – संस्कृति , मैलिकता , विभिन्न जात जाती , भाषा भाषीले सम्मपन्न छौ। सबै जात जाती धर्म सस्कृतिको उत्तिकै मान, सम्मान र इज्जत गर्नु हामी एक नेपाली को परिचय पनि हो ।

तीज जस्तो मौलिकता बोकेको चाड पर्वलाई बिकृतिमय बनाउन कदापि हुन्न, र त्यो पहल मबाट पनि हर पल रहन्छ, यो आफैमा मौलिकता बोकेको पर्व हो।हामी युवा पिढिले नै सचेत रहनु जरुरी छ कि परा पूर्व देखि मानिदै आएको चाड बाडलाई आत्मसात गर्दै – हरेक चाड पर्वलाई उत्तिकै सम्मान र ईज्जतका साथ मनाउँ ।मौलिकता बोकेका गीत हरुमा बढी जोड दिउँ र आ आफ्नो तवरबाट विकृति बिसङतीको अन्त्य गरौँ भन्न चाहन्छु।

मुना थापा मगर (लोक द‍ोहोरी गायिका):तीज गीत पनि समय अनुसार परिवर्तन हुन खोजेको हो परिवर्तन हुनु राम्रो पनि हो तर परिवर्तको नाममा आफ्नो कला संस्कृति बिर्सनु भएन ।यसलाई सुधार्न कलाकारहरू आफै सचेत भएर कति सम्म हाम्रो समाज र समयलाई पच्ने गीत सङ्गीत दिन सकिन्छ भनेर सोच्न र लाग्न जरुरी छ र अर्को कुरा नियम बनाउनु पर्‍यो र कलाकार नियम विपरीत गर्न खोेजेमा कारबाही हुने हो भने विकृति आफै हट्छ ।

पुर्णकला बि.सी (लोक दोहोरी गायिका):खासमा तीज भनेको गीतको माध्यमबाट सुख दुख साटासाट गर्ने चेलीहरुको महान् चाड हो । असार साउनमा खेत रोपेर सकेपछि माइतमा गयर दुख बिसाउने माध्यम हो तिज, तर अहिलेको तीज गीत केही हद सम्म छाडा आएका छन्, तर सबै त्यस्ता छन् भन्न मिल्देन धेरै राम्रा सन्देश मूलक तीज गीत पनि बजारमा आएका छन् दर्शन श्रोता देखि मिडियाले पनि ध्यान दिनु पर्छ कस्तो गीत बजाउन र सुन्ने भनेर अर्को कुरा गीत सङ्गीतमा पनि सेन्सर हुने हो भने यस्ता खालका विकृति कम हुँदै जान्छन् ।

राधिका हमाल पुन (लोक दोहोरी गायिका):पहिलो कुरा त हामीले यो निर्धारण गर्न सकिरहेका छैनौ कि कति हद सम्मलाई हाम्रो तीज संस्कृति भित्रको भनेर मान्ने ? कुनै पनि क्राइटएरिया छैन। कुनै बेला चेलीले पाएको यातनालाई उजागर गर्ने मात्रै तीज भनियो,कतै चेलीले निरहार व्रत बसेर राम्रो पति पाउँ भनेर पुकार गर्नु तीज मानियो, म के भन्छु भने समय अनुसार त हुनुपर्छ,पहिले सासुले बुहारीलाई पिडा दिने कुरालाई तीज गीत मार्फत गाइन्थ्यो पीडा पाउनु हुने दिदिबहिनीको जमात थियोे, तर अहिले त्यो अवस्था छैन। नपाएको पीडा कसरी ओकेल्नु ? दिदिबहिनीहरु आत्मनिर्भर हुँदै गरेको सङ्केत पनि हो यो त्यसैले ।

आधुनिकतालाई विकृति भन्न मिल्दैन, बरु आधुनिकताका नाममा भल्गारिटी आउनु विकृति हो । सभ्य आधुनिकता लोभ लाग्दो हुन्छ, अब रह्यो विकृति विसंगति  सिकार यो धेरै ठुलो आरोप हो, यस्ता आरोपहरू उठ्दै नउठ्नु पर्ने हो । समाजले लुकाइएर गुम्साएर राख्न चाहने कुरा कलाको माध्यमबाट सधैँ उजागर हुने गर्छ बरु यस्लाई अझै धेरै कलात्मक शैलीमा भन्नू जरुरी छ । शिव जस्तै पति पाउँ भन्नू पनि वासना युक्त कुराको माग गर्नु हो । यो त पहिले देखि हुँदै आएको छ । यस्लाई गलत क्रियाकलाप भनेर तुलना गरिनु हुँदैन । मेरो बिचारमा…..

स्मृति तिमिल्सिना “गुरुआमा”(मोडल तथा निर्देशिका):सबैले बोलेर मात्र हुन्न व्यवहारमा देखाउन सक्नुपर्छ यहाँ कलाकारिताको नाममा ब्यापर भएको छ । नयाँ आउने प्रतिभा भएका कलाकारले अवसर पाएका छैनन् जो सँग पैसा छ त्यही कलाकार भएको छ । जसले जे गर्दा पनि हुन्छ यसमा पहिलो सर्जकले सोच्नु पर्‍यो सृजना गर्दा कस्तो सृजना मेरो समाजले पचाउन सक्छ भन्ने त्यसपछि स्टुडियोमा रेकर्डिङ हुँदा नि कस्तो गीतलाई रेकर्ड गर्नुपर्छ त्यो ख्याल राख्नुपर्छ जब एउटा अडियो बजारमा आउँदा राम्रो बनेर आउँछ भने भिडियो नि राम्रै आउँछ फलस्वरूप राम्रो नतिजा आउँछ विकृति आफै हट्दै जान्छ ।

सम्झना लामिछाने मगर (लोक दोहोरी गायिका):केही वर्ष यता केही तीजका गीतमाहरुमा विकृति देखिएको छ । सबै त्यस्ता पनि छैनन् सन्देश मूलक गीतहरू पनि धेरै निस्केका छन् । दर्शक श्रोताले पनि राम्रो गीत मौलिक तीज गीतहरू हेर्दिनु पर्‍यो र हामी कलाकारहरूले पनि समाजमा पच्ने खालका गीत सङ्गीत बजारमा ल्याउनु पर्‍यो । खासमा भन्नु पर्दा बिना साधना अथवा प्रतिभा बिना मान्छे पैसाको भरमा कलाकारिता क्षेत्रमा आउनु समाजमा नपच्ने खालका शब्दहरू गीतमा राख्नु , परिवार सँग बसेर हेर्न नमिल्ने खालका भिडियो निमार्ण गर्नु नै ठुलो विकृति हो , मेरो बिचारमा युटुब, टिभी, रेडियोमा बजाउनु अघि सेन्सर हुनु जरुरी छ ।

शान्ति श्री परियार (लोक दोहोरी गायिका):धेरै पहिला देखि नै भन्दै आइएको र पूरा हुननसकेको यस क्षेत्रमा मापदण्डको निर्माण हुन जरुरी छ । र यस क्षेत्रसँग जोडिन आउने नयाँ तथा पुराना श्रष्ठा सर्जकहरू सम्मले आफ्नो रितीरिवाज संस्कृतिको ज्ञान पहिचान गरी सस्तो लोकप्रियताको पछि लाग्न छोड्नुपर्छ । सञ्चार माध्यममा पनि सेन्सर हुन जरुरी छ । जुन कुरा सस्तो लोकप्रियताको लागि गरिन्छ त्यसैलाई अनर्गल प्रचार प्रसार गरेर बढावा दिने जस्ता कुरालाई रोक्नुपर्छ । नियम कानुन निर्माण गरी कडाईका साथ लागु गर्न सकिए यस्ता विकृति हट्न हटाउन धेरै समय लाग्दैन । यो मेरो व्यक्तिगत बिचार हो ।

भूमिका गिरी (लोक दोहोरी गायिका):तीज हिन्दु नारीहरूको महान् चाड, जुन चाडमा पहिले महिलाहरू विशेष गरी यो पर्वको अवसर पारी आफ्नो माइतीमा आमाबुबा दाजुभाइ सैसाथीहरूशीत दु:ख पिर वेदना साट्ने गरिन्थ्यो, तर आजकल नारीहरू यो पर्व हर्ष उल्लासका साथ खुलेर रम्दछन त्यही अनुसार नै अहिलेका गीत सङ्गीत बनेका छन् जस्तो मलाई लाग्छ । जसले गर्दा अहिले यो पर्वलाई लक्षित गरेर निस्कने कुनै कुनै गीतहरू र भिडियोहरु विवादित बनेका छन्। यो रोक्नको लागि सर्वप्रथम त गीत रचनाकार स्वयम् आफुनै सजग हुनुपर्छ किनकि गीत रचना गर्दा मौलिकता र आधुनिकता को नाउमा विकृति विसंगति ल्याउनु हुँदैन । त्यसपछि गायक गायिका र म्युजिक कम्पनी सजग र सतर्क हुनुपर्छ किनकि पैसाको लागि जो कोही गीतलाई प्रोत्साहन गर्नुहुदैन किनकि जो गीत सङ्गीत क्षेत्रमा लगेको छ उसको धर्म भनेकै कला संस्कृतिको जगेर्ना गर्नु हो । यो जीवन्त रहे हामी जीवन्त रहेने हुँदा यो क्षेत्रसग सम्बन्ध राख्ने सम्पूर्ण सरोकारवालाले जिम्मेवार बोध गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

सावित्री जोशी (लोकदोहोरी गायिका):तपाईँले मैले मात्र चाहेर त केही हुँदैन र राेक्न पनि सकिन्न ,बरु तिज भनेको के हाे ? त्याे पर्वलाई कसरी मनाउनुपर्छ भन्ने कुरामा चाहिँ हामी सबै जानकार हुनुपर्छ जस्तो लाग्छ । भव्य रूपमा भन्दापनि सरल र सभ्य रूपमा तिज मनाउनु पर्छ, तडकभडकबाट टाढै रहनुपर्छ अनि हामी कलाकारहरूले पनि तिज भनेकाे कस्तो चाड हाे र यस्ले कस्तो संस्कृति बाकेकाे छ भन्ने बुझेर गितसंगित सिर्जना गर्ने गर्नुपर्छ जस्तो लाग्छ ।

सम्झना भण्डारी(लोक दोहोरी गायिका):मेरो विचारमा
०१ – लोक दोहोरी गीत सँग सम्बन्धित गीत सुरुमा अब अहिले आजै बाट राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालमा दर्ता गरायर मात्र गीतको एरेन्ज गर्नु पर्छ ।

०२ – गीत त्यहाँ शब्द राम्रो सँग मूल्याङ्कन हुनु पर्छ ।
०३ – अहिले जस्तो व्यक्ति पनि पैसा भय कलाकार भयका छन् जुन मान्छेसँग कुनै खुबी हुँदैन, स्वर लय शब्द र गीत सँग सम्बन्धित कुरा त्यो व्यक्ति सँग छ कि छैन ।

रुपा घर्ती मगर (लोक दोहोरी गायिका):मेरो बिचारमा पछिल्लो समय विकृति खालका तीज गीतले गर्दा राम्रा गीत ओझेल परेका छ्न । दर्शक श्रोताहरुले पनि राम्रो कलाकार र सृजनालाई प्राथमिकता दिनु पर्छ जस्तो लाग्छ र अर्को कुरा हामी सबै कलाकारको दायित्व हो । विकृति हटाउनको लागी यी कुराहरूलाई ध्यान दिने हो भन्ने केही मात्रमा विकृति हट्छ कि जस्तो लाग्छ मलाई जस्तै: –
– तीज नजिकिदै गर्दा मात्रै तिज गीत बजारमा ल्याउने ।
– तीज विशेष कार्यक्रम पनि तिजको सेरोफेरोमा हुनु जरुरी छ ।
– बजारमा आउने गीतहरू तिजको झल्को मेट्नी गाउने सुन्ने गर्नु पर्छ ।
– अत्यमा गीत सङ्गीतमा सेन्सर हुनु जरुरी छ ।

अन्जु निरौला (मोडल) :सबैभन्दा पहिला त हामीले आफ्नो साेच बदल्नु पर्छ जस्तो लाग्छ मलाई ।अरुकाे देखासिखी गरेर भन्दा पनि आफूसँग जे छ त्यसैमा खुसी हुन सिक्याे भने यी सबै बिकृतिहरु हराएर जान्थे हाेला।

सिता राना मगर (लोक दोहोरी गायिका):तीज पर्वमा समयकाे परिवर्तन सँगै विकृति बिसंगतिहरु पनि आइरहेका छन् यसमा कुनै ऐनकानुन छैन नीति नियम छैन ,जसले जे गर्दा नि भएकाे छ। यदि यसमा पनि एेनकानुन र नीति नियम हुने हाे भने याे विकृति अनि छाडापन अलि कम हुने थियाे कि !

विनु खड्का (मोडल ):कलाकार आफैँले बुझ्नुपर्ने कुरा हाे, समय अनुसार परिवर्तन हुनुपर्छ तर विकृति भित्र्याउन हुँदैन ।यस्लाई राेक्नकाे लागि सम्बन्धित निकायले त्यस्ता गीत सङ्गीतलाई प्राेत्साहित गर्न भएन।

कला पंगेनी (लोक दोहोरी गायिका):कलाकारीतालाई समाजले सुरुवाती दिन देखिनै फरक नजरले हेर्ने गरेको पाइन्छ । इन्द्रको सहर स्वर्गमा पनि कतै अप्सरा उर्वसीहरुलाई कलाकार भन्ने गरेको पाइन्छ भने कतै नगरवधु । त्यो दृष्टिकोणले पारेको प्रभाव होला । आधुनिक कलाकारीता मा माथि प्रश्नमा उल्येख भए अनुसार का आरोप हरू कति उचित या अनुचित छन्, ती कुराहरू मान्छेका दृष्टिकोणमा भर पर्ने कुरा हुन । कलाकारीता समाजकै यौटा पाटो भएको कारण कलाकारीता मात्र होइन पुरै समाज नै विकृत भएको कारण त्यो विकृतिको असर कलाकारीतामा देखिएको हुन सक्छ ।

संसारभर हुने कलाकारीतामा हरेक सभ्यता भित्र त्यस्ता उत्ताउला लाग्ने धारहरू रहेको पाइन्छ । कतै कतै कुनै कुनै देशमा त्यस्तै अङ्ग प्रदर्शनहरू नै परम्परा र संस्कृति बनेर रहेको पनि देख्न पाइन्छ । हाम्रै छिमेकी देश भारतको युपि र विहार राज्यहरुमा प्रचलित “भोजपुरी गीत”हरू र पाकीस्तानमा प्रचलित आर्केष्ट्राहरू त्यसका उदाहरण हुन । समाजले पनि खोजी खोजी कलाकारीताका त्यस्ता पाटाहरुलाई खोजी खोजी हेर्दिन्छ र मनोरन्जन लिन्छ त्यही कारणले पनि यस्ता परम्पराहरुको जगेर्ना मात्र होइन उनीहरूले प्रश्रय समेत पाइरहेका हुन्छन् । कलाकारीता विकृत हुनु या विकृत कलाकारीता मौलाउनुमा कुनै एक कलाकारको रहर वा स्वार्थ मात्र दोषी हुन सक्दैन उसलाई फलो गर्ने सिङ्गो समुदाय नै दोषी हो भन्ने मेरो मान्यता रह्यो ।

शीतल शर्मा (उद्धोषिका):यस्ता गलत प्रवृतिलाई रोक्नको लागि  सर्वप्रथम त आफू ले आफै सेन्सर गर्न सक्ने खुबी हुनुपर्छ किन की अरूले के गर्‍यो त्यो महत्त्वपूर्ण होइन ! आफूले गरेको काम ठिक छ या छैन त्यसमा ध्यान दिनुपर्यो र पछिलो समयमा देखासिखी गर्ने चलन हाबी भएको छ त्यसको लागी सम्बन्धित निकायको ध्यान पुगनु जरुरी छ ।

कला लम्साल (लोक दोहोरी गायिका):आधुनिकता सँग सँगै परिवर्तन हुनु त जरुरी छ तर परिवर्तनको नाममा ,तीजका भाका रत्याउली झ्याउरेमा अनि छाडा पनमा जानू यो कुरा लोक पनको सिधै अपमान हो । अब यी विकृतिले सीमा नाघी सकेको हुँदा उचित मापदण्ड ,तोकिएर लोक दोहोरीमा पनि छाडा गीतलाई सेन्सर लागाइ रोक्न सकिन्छ जस्तो लाग्छ,यसको लागि सेन्सर बोडको स्थापना हुनु जरुरी छ।