अझै तीन दिन भारी वर्षा हुने « Himal Post | Online News Revolution
Logo

अझै तीन दिन भारी वर्षा हुने



काठमाडौं- भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ।

उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकासहित देशभर सामान्य बदली रहेको छ भने गएराति काठमाडौँसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ।

महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा सामान्य बदली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिका समयमा पनि देशभर सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ।

भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै रुथानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश को एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

कात्तिक २ गते मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा प्रदेश नं १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।​

दसैँका समयमा काठमाडौँ उपत्यकासहित देशैभर मौसम सफा रही चर्को घाम लागे पनि दसैँको टीकाको दोस्रो दिन शनिबारदेखि काठमाडौँलगायत देशभर बदली र हल्का वर्षा भएको छ । काठमाडौँमा गएराति हल्का वर्षा भएको छ।

महाशाखाको विवरणमा काठमाडौँमा ८ दशमलव ५ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी ओखल ढुङ्गामा ५५ र ताप्लेजुङमा २३ मिलिमिटर वर्षा भएको छ। आज काठमाडौँको अधिकतम ३१ दशमलव ६ र न्यूनतम तापक्रम १८ डिग्रि सेल्सियस रहेको छ।