टेकु अस्पतालमा दिनभर जे देखियो... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

टेकु अस्पतालमा दिनभर जे देखियो…



समय : बिहान ११:१५ बजे, आइतबार
स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

काठमाडौं । बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर समस्या भएपछि आफन्तको सहायतामा आइतबार टेकु अस्पताल पुगे । अपराह्न १२ बजे अस्पताल पुगेका पराजुलीलाई आकस्मिक कक्षमा राखियो । तर, उनलाई राख्नका लागि टेकु अस्पतालमा भेन्टिलेटर ‘प्याक’ थियो । उनका आफन्त अत्तालिँदै भेन्टिलेटरको खोजी गरिररहे तर पाएनन् ।

कहाँ लैजाने कसरी लैजाने भनेर छटपटिरहेका थिए । भेन्टिलेटरमा राख्नुपर्ने भएकाले आफन्त एम्बुलेन्सको खोजीमा लागे । धन्न चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पतालमा भेन्टिलेटर खाली रहेछ । तर, एम्बुलेन्स चार बजेसम्म पनि आइपुगेन । आफन्त निकै अत्तालिएका थिए । अन्तत: बा१७च २५६३ नम्बरको एम्बुलेन्स बिरामी लिन आइपुग्यो । चार घण्टाको बिरामी र आफन्तको रोदनले त्यहाँको वातावरण निकै भावु्क बन्न पुगेको थियो ।

भेन्टिलेटर ‘प्याक’ भएपछि आफन्तको रोदन

टेकु अस्पतालमा दैनिकजसो नै भेन्टिलेटरको खोजीमा बिरामीको भिँड लाग्ने गर्छ । तर, अस्पतालमा भएको भेन्टिलेटर खचाखच भएपछि बिरामी र उनीहरूका आफन्त अन्यत्र जान बाध्य हुने गरेका छन् ।

अहिले कोभिड–१९ को उपचार हुने मुख्य केन्द्र मानिएको टेकु अस्पतालमा मात्र होइन, देशभरका अधिकांश निजी र सरकारी अस्पतालमा भेन्टिलेटर पाउन हम्मेहम्मे हुन थालेको छ ।

टेकु अस्पताल पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘सास फेर्न गाह्रो भइरहेको छ बिरामीलाई । भेन्टिलेटर नै छैन भनेर भन्नुभयो । कहाँ लैजाने कसो गर्ने तनावमा छौं, यस्तो संकट त कसैलाई पनि नपरोस् ।’

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल १० जना भेन्टिलेटरमा, नौ जना आईसीयू र ४७ जना आइसोलेसनमा उपचाररत छन् । देशभर हाल ३ सय १७ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत २ सय ५२ जना आईसीयू र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै, अहिले अस्पतालमा अक्सिजनको पनि अभाव हुन थालेको छ । भर्ना भएका बिरामीले सहज तरिकाले अक्सिजन पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई बजारमा उपलब्ध भएको सबै अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसहित आइतबार बसेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको बैठकले बजारमा उपलब्ध भएका अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयले विभागलाई बजारमा उपलब्ध भएसम्मका अधिकतम थप ठूलो अक्सिजन सिलिन्डर र पुनः भर्न मिल्ने खालका कन्टेनरसहितका १ सयवटा साना सिलिन्डर यथाशीघ्र खरिद गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले पटकपटक मास्कको समुचित प्रयोग र भौतिक दूरी कायम (कम्तीमा दुई मिटर) गर्न भने पनि उल्लंघन हुँदै आएको छ ।

एकै दिन २८ को मृत्यु
आइतबार मात्रै २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

आइतबार १० हजार ७८ जनाको कोरोना परीक्षण भएको छ । जसमा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको छ । हाल देशभर १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन् । हाल ६९ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ४ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

कुल संक्रमितमध्ये १ हजार ४ सय ९८ जना मात्रै काठमाडौं उपत्यकामा भेटिएका छन् । राजधानीले लेखेको छ।