टेलिकमको नाफा घट्नुको कारण के ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

टेलिकमको नाफा घट्नुको कारण के ?



काठमाडौं- नेपाल टेलिकमको खुद नाफा गत वर्ष स्वात्तै घट्यो। अघिल्लो वर्षसँग तुलना गर्दा उसको नाफामा सात अर्बभन्दा धेरैले कमी आयो। 
हरेक दिन ग्राहक बढेकै छन्। डाटा र भ्वाइस सेवा लिनेको संख्या पनि वृद्धि भइरहको छ। आखिर किन घट्यो त नाफा? टेलिकम भन्छ– नाफा घट्नुको दोष धेरै राजस्व, ओटिटी सेवा र थप लगानी हो।

टेलिकमले गत वर्ष अनुमतिपत्र नवीकरणमा बुझाएको रकम र अन्तर्राष्ट्रिय कलमा आएको कमीले नाफामा असर गरेको छ। 
अघिल्लो वर्षसँग तुलना गर्दा गत आर्थिक वर्ष २०७५/७६ कम्पनीको नाफामा ४२ प्रतिशतले कमी आयो। गत वर्ष टेलिकमको आम्दानी १० अर्ब २० करोड खुद नाफा कमाएको थियो जबकि त्यसअघि आर्थिक वर्ष २०७४/७५ मा उसको नाफा १७ अर्ब ४९ करोड रुपैयाँ थियो।

यसरी एकै वर्षमा टेलिकमको नाफा झन्डै ७ अर्ब २९ करोडले घट्नुलाई गत वर्ष सरकारलाई बुझाउने राजस्व धेरै भएको र ओटिटीलाई दोष दिएको छ।

गत वर्ष टेलिकमले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण वापत ४ अर्ब रुपैयाँ बुझाएको थियो। त्यस्तै, दूर सञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि भएको थियो।

यी दुई कारणले गत वर्ष टेलिकमको नाफामा कमी आएको टेलिकमको भनाइ छ। ‘उक्त अवधिमा कम्पनीको मुनाफा घट्नुमा मोबाइल सेवाको अनुमतिपत्र नवीकरणबापत दोस्रो अवधि (२०७१–२०७६ सम्म) को दस्तुर रकम २० अर्ब रुपैयाँमध्ये पहिलो किस्ताको ४ अर्ब रुपैयाँको खर्च र दूरसञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि हुनुको पनि अहम् भूमिका रहेको छ,’ टेलिकमले आफ्नो नाफा घट्नुको कारणबारे भनेको छ।

टेलिकमका अनुसार उसको स्थानीय टेलिफोन सेवाको राजस्वमा पनि कमी आएको छ। उक्त सेवाबाट वायरलेस सेवामा ग्राहक रुपान्तरण हुने क्रम बढेकोले तारसहित सेवाको प्रयोगमा कमी हुँदा राजसव घटेको टेलिकमको भनाइ छ।

त्यसैगरी, इन्टरनेट प्रविधिमा आधारित ओटिटीजस्तै भाइबर, ह्वाट्सअप, म्यासेन्जर सेवाहरूको व्यापक प्रयोगको कारणले पनि नाफामा असर गरेको छ। पछिल्लो समय यिनै सामाजिक सञ्जाल प्रयोग गरेर विदेश र देशभित्र पनि म्यासेज, भिडियो कल गर्ने संख्यामा वृद्धि भएको छ।

टेलिकमका अनुसार संसारभरका दूरसञ्चार सेवा प्रदायकहरूको अन्तर्राष्ट्रिय सेवाको भ्वाइसतर्फको आम्दानीमा नकारात्मक असर परेको छ। संसारभर देखिएको यस्तो परिस्थितिबाट नेपाल टेलिकमलाई पनि असर पर्नु स्वाभाविकै रहेको उसको भनाइ छ।

यी सबै हुँदाहुँदै पनि सरकारी कोषमा बुझाउने राजस्व अघिल्लो आर्थिक वर्षभन्दा करिब चार अर्ब रुपैयाले बढेको उसको भनाइ छ। यसका अतिरिक्त मोबाइल सेवाको फोरजी प्रविधिमा स्तरोन्नति तथा स्थानीय टेलिफोन सेवाको एफटिटिएच प्रविधिमा रुपान्तरणको कामले पनि यसै वर्षदेखि मात्र गति लिएकोले कम्पनीको आम्दानीमा सोको असर चालू आर्थिक वर्षदेखि मात्र देखिन थाल्ने टेलिकमको भनाइ छ।

गत आर्थिक वर्षभित्र कम्पनीको डाटा खपत १२१ प्रतिशतले, भ्वाइस सेवाको प्रयोग ४४ प्रतिशतले र सक्रिय प्रयोगकर्ता संख्या १० प्रतिशतले वृद्धि भएको जनाएको छ। कम्पनीले चालू आर्थिक वर्षभित्र करिब १० प्रतिशतको आम्दानी तथा मुनाफा वृद्धिको लक्ष्य लिएको छ।

टेलिकमले अहिलेलाई आम्दानी र मुनाफा अभिवृद्धि गर्नेभन्दा आफ्ना देशभरका सेवाग्राही महानुभावलाई सुपथ मूल्यमा सेवा दिने जिम्मेवारीलाई बढी महत्व दिएको जनाएको छ।