को बन्ला मुलुकको तेस्रो राष्ट्रपति ? अंक गणितमा हेरौँ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

को बन्ला मुलुकको तेस्रो राष्ट्रपति ? अंक गणितमा हेरौँ



काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ राष्ट्रपति भोलि (बिहीबार) चुनिनेछन्। यो पूर्ण कार्यकालको हिसाबले तेस्रो राष्ट्रपति निर्वाचन हो।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुभाष नेम्वाङ राष्ट्रपतिमा भिड्दैछन्। यसपटक पौडेललाई उनको पार्टी नेपाली कांग्रेसबाहेक पनि सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित ८ दलको समर्थन छ।

एमाले नेता नेम्वाङलाई उनको पार्टी एमालेको मात्रै समर्थन देखिन्छ । यद्यपि, समयमा निर्णय लिन नसकेका राप्रपा,राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीको मत अनिर्णित छ।

मैदानमा देखिएका दुई उम्मेदवारको मतभार हिसाब गर्दा नेम्वाङ भन्दा पौडेल झन्डै दोब्बर मतले अगाडि देखिन्छन्।

संघीय सांसदको ७९ र प्रदेश सांसदको ४८ भतभार भएको यो चुनावमा पौडेलको पक्षमा ३५ हजार हाराहारी मत देखिन्छ भने नेम्वाङको पक्षमा बढीमा १७ हजार मतभार देखिन्छ । राष्ट्रपति निर्वाचित हुन करिब २७ हजार आसपास मतभार चाहिन्छ।

पछिल्लोपटक बनेको गठबन्धनको मतभारको आधारमा पौडेल जितको नजिक छन्। राष्ट्रपतिका उम्मेदवार पौडेललाई १० दलको समर्थन छ ।

कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० दल पौडेलको पक्षमा छन्।

राष्ट्रपति चुनावमा प्रतिनिधिसभाका २७३, राष्ट्रिय सभाका ५९ र प्रदेशसभाका ५५० सांसदहरूले मतदान गर्नेछन्। प्रतिनिधिसभाका २७५ मध्ये दुई सांसदको मतदान अधिकार हुनेछैन।

चितवन २ का सांसद रवि लामिछानेको पद खारेज र मनाङका सांसद टेकबहादुर गुरुङको निलम्बनमा रहेका कारण उनीहरूको मत हुने छैन।