काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मामाथि ठगीमा मुद्दा चलाउने तयारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मामाथि ठगीमा मुद्दा चलाउने तयारी



काठमाडौं- काठमाडौं मेडिकल कलेज र विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही हुने भएको छ । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएपछि विवादमा तानिएको नोवेल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही हुने भएको हो

गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई नोवेल कलेजका सञ्चालक सुनिल शर्मामाथि कारबाही गर्न निर्देशन दिएको छ । आयोगले तोकेभन्दा २० लाख रुपैयाँ बढी शुल्क लिएपछि चिकित्सा शिक्षा आयोगले काठमाडौ मेडिकल कलेज, नोवेल कलेज बिराटनगर र पोखराको मणिपाल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टिकरण सोधेको थियो ।

नोवेलका सञ्चालक शर्माले नियामक निकायले तोकेकै शुल्क लिने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता जनाएपनि तोकेभन्दा बढी शुल्क लिन नछाडेपछि उनीमाथि कारबाही हुने भएको हो । तोकेभन्दा बढी शुल्क लिन नछाडेपछि विद्यार्थीहरुले पुन विभिन्न निकायमा उजुरी दिएका थिए ।

आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालले आयोगले तोकेकै शुल्क लिने प्रतिवद्धता दिलाएको थियो । तर, काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले शुल्क निर्धारणमै असहमति भएपनि नियामक निकायले तोकेकै शुल्क लिने प्रतिबद्धता जनाएका थिए ।

गृहले गरेको पत्राचारमा चिकित्सा शिक्षा आयोगलाई समेत बोधार्थ दिएको छ । उनलाई पक्राउ गरी उनीमाथि ठगी मुद्दा चलाउने तयारी गरिएको बुझिएको छ ।