ठाकुर पक्ष पनि सरकारमा जान तयार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ठाकुर पक्ष पनि सरकारमा जान तयार



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको ठाकुर पक्षका नेताहरूले बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले बुधबार भेट गरेका छन्। भेटमा प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा आउन प्रस्ताव गरेको ठाकुरनिकट नेता शरत्सिंह भण्डारीले बताए। उनका अनुसार भेटमा ठाकुरले जसपाले उठाउँदै आएका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।

जसपाले सरकारसँग मधेस आन्दोलनका क्रममा लगाइएको झुटो मुद्दा फिर्ता गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विधेयक पास गर्ने तथा निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग अघि सारेको छ।

भण्डारीका अनुसार देउवाले विश्वासको मत दिएर सहयोग गरेको चर्चा गर्दै सरकारमै सहयात्राका लागि प्रस्ताव गरेका थिए। ‘हाम्रो चासो हाम्रा माग र मुद्दा हुन्। तिनको सम्बोधन भए हामी सरकारमा जान सक्छौं,’ भण्डारीले भने। प्रधानमन्त्री देउवासँगको भेटपछि सरकारमा जान पार्टी सकारात्मक भएको पनि उनले बताए।

मन्त्रालय बाँडफाँट र पावर सेयरिङबारे भने देउवासँग कुनै कुराकानी नभएको उनले बताए। ‘हामी सरकारमा जान सकारात्मक भएका मात्र हौं। मन्त्रालय बाँडफाँटबारे कुनै कुराकानी भएको छैन,’ उनले भने। स्रोतका अनुसार ठाकुर पक्ष सम्मानजनक हैसियत प्राप्त भए सरकारमा जानेछ।

केपी ओली नेतृत्वको पूववर्ती सरकारमा ठाकुर पक्षका ११ नेता सहभागी थिए। ‘सरकारमा गए हामी उपेन्द्र यादवको हैसियतसरह सहभागी हुनेछौं,’ ठाकुर पक्षका एक कार्यकारिणी समिति सदस्यले भने, ‘एकदुईवटा मात्रै मन्त्रालय लिएर हामी सरकारमा जान्नौं।’

अन्तिम समयमा ठाकुर पक्षका सांसदले देउवालाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिने बेला ठाकुरले देउवालाई बधाई तथा शुभकामनासमेत दिएका थिए। ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने बेला प्रतिनिधिसभामा ठाकुरसँग २० सांसद थिए। सर्वोच्चको निर्णयपछि ठाकुर पक्षका नेताहरू सरकारबाट बाहिरिए।

सरकारबाट बाहिरिनेबित्तिकै ठाकुर पक्षमा पहिरो जान सुरु भयो। अहिले ठाकुर पक्षका कम्तीमा सातजना सांसद उपेन्द्र यादव पक्षमा पुगेका छन्। ओली सरकारमा मन्त्री भएकाहरूसमेत यादव पक्षमा पुगेका छन्। पछिल्लो समय ठाकुर पक्षसँग र यादव पक्षसँग कति सांसद छन्, यसको लेखाजोखा हुन सकेको छैन। भित्रभित्रै ठाकुरसँग निकट अरू सांसद पनि आफूहरूको समूहमा आएको यादव पक्षका नेताहरू बताउँछन्। भुवन शर्माले नागरिकमा लेखेका छन् ।