लकडाउन खुकुलो उपत्यका छिर्नेको लर्को : थप जोखिममा काठमाडौं - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लकडाउन खुकुलो उपत्यका छिर्नेको लर्को : थप जोखिममा काठमाडौं



काठमाडाैं – सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको बताए। उनका अनुसार बिनापास उपत्यका छिर्न खोज्ने एक सय १५ जनालाई सोमबार फिर्ता गरिएको छ। एक सय पाँचजना पास देखाई उपत्यकामा प्रवेश गरेका छन्। तर उपत्यकामा पसल सञ्चालन गरेको र थानकोटनजिकै बसेको भन्दै केहीले बहाना पनि बनाउने गरेका छन्।

प्रहरीले बिनापास टाढाबाट आए पनि फर्काउने भएकाले पास जारी गरेर मात्रै उपत्यका प्रवेश गर्न सबैलाई आग्रह गरेको छ। ‘पास नलिईकन आउने सवारीसाधनलाई हामीले उपत्यका छिर्न दिएका छैनौं,’ उनले भने, ‘तर उपत्यकामा खुकुलो पारेसँगै त्यसकोे प्रत्यक्ष असर नाकामा परेको छ।’

त्यस्तै भक्तपुर प्रवेश गर्ने साँगा नाकाबाट पनि उपत्यका प्रवेश गर्नेको संख्या बढेको छ। सोमबार मात्रै भक्तपुरको जगाती नाकाबाट तीन हजार बढी सवारीसाधन उपत्यका प्रवेश गरेको प्रहरी वृत्त जगातीले जनाएको छ। प्रहरीले सीमित व्यक्तिहरूलाई मात्रै उपत्यका प्रवेश गर्न दिइएको बताए पनि प्रत्यक्षदर्शीले निर्बाध तवरले मानिसहरू उपत्यका छिरेको बताउँछन्।

सामाजिक अभियन्ता प्रेमबहादुर थापाले उपत्यकामा छिर्ने नाकाहरूमा बाहिरी व्यक्ति प्रवेश गर्ने भीड रहेको बताए। ‘प्रहरीले कडाइ गर्छु भनेको छ तर त्यति कडाइ गरेको छैन,’ उनले भने,’ ‘पसल व्यवसाय खोल्न भन्दै अहिले उपत्यकामा प्रवेश गरेका छन्।’यो समाचार आजको नागरिक दैनिकमा छ ।