ठूलालाई सम्मान र आदर गर्ने संस्कारलाई अक्षुण्ण राख्नु पर्ने :प्रधानमन्त्री देउवा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

ठूलालाई सम्मान र आदर गर्ने संस्कारलाई अक्षुण्ण राख्नु पर्ने :प्रधानमन्त्री देउवा



असोज १५, काठमाडौँ 

प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सँगाल्दै सबैका अभिभावकका रुपमा रहनुभएका सबै आमा, बुबा, ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गरेका छन् ।

सत्ताइसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा उनले दिएको सन्देशमा परापूर्वकालदेखि चल्दै आएको आफूभन्दा ठूलालाई सम्मान र आदर गर्ने संस्कारलाई अक्षुण्ण राख्नु हामी सबैको कर्तव्य हो भन्दै सम्पूर्ण ज्येष्ठ नागरिकप्रति नमन गरेका छन् ।

उनले ज्येष्ठ नागरिकका हकहितको संरक्षण तथा संवद्र्धनका लागि र उनीहरुको सम्मान–आदरका लागि सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा रहेका करिब २७ लाख ज्येष्ठ नागरिकले कुनै न कुनै तरिकाबाट आफ्नो ऊर्जाशील जीवन राष्ट्रको योगदानका लागि खर्चिनु भएको बताउँदै उनले ज्येष्ठ नागरिकका अनुभव हाम्रा लागि पथप्रदर्शक रही अमूल्य सम्पत्तिका रुपमा रहेको स्पष्ट गरेका छन् ।

उनले नेपालको संविधानले मौलिक हकको माध्यमबाट ज्येष्ठ नागरिकप्रतिको राज्यको दायित्वको सिर्जना गरेको हुँदा सरकार ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका लागि सदैव चिन्तित रहेको बताउँदै भनेका छन्, “राज्यको सीमित स्रोत र साधन हुँदाहुँदै पनि ज्येष्ठ नागरिकका लागि कतिपय कल्याणकारी कार्यक्रम सञ्चालन गरिरहेको हामी सबैलाई थाहा छ, अझै पनि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकता हुँदै गएको मैले महसुस गरेको छु । साथै उहाँहरुले देखाएको मार्गदर्शनलाई परिवार, समाज र राष्ट्रका सबै पक्षले अनुसरण गर्नुपर्दछ भन्ने लागेको छ ।”

संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभरि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइन्छ । यस वर्ष ‘भविष्यतर्फ पाइला ः ज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान र समाजमा सहभागिता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।