सांसदहरु पनि लागे सरसफाई अभियानमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सांसदहरु पनि लागे सरसफाई अभियानमा



बुटवल ।  बिहानीपखको जाडो । त्यसमाथि माघे संक्रान्ति पर्वको दिन । जाडो र पर्वको दिनलाई वेवास्ता गर्दै सोमबार तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा बिहानै एक हुल मानिसहरु जम्मा भए । एकैछिनमा उनीहरुले पञ्जा र माक्स लगाए । त्यसपछि उनीहरु सबै जना सडक सरसफाईमा नारिए ।
कतिले फोहोर टिप्न थाले त कतिले सडक बढार्न । सरसफाई अभियन्तालाई प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल र प्रदेशसभा सदस्य लिला गिरीले साथ दिए ।
तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानमा सोमबार प्रतिनिधिसभा सदस्य भुसाल र प्रदेशसभा सदस्य गिरी सहभागी भएर सुरुदेखि अन्तसम्म अरुसरह सरसफाई कार्यमा जुटे ।
भुसाल रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य र गिरी क्षेत्र नं. २ को प्रदेशसभा १ का सदस्य हुन् । सोमबार तिलोत्तमा नगरपालिकाले बुटवल–बेलहिया सिक्सलेन सडकको ड्राईभरटोल चोकदेखि शंकरनगरचोकसम्म सरसफाई गरेको छ ।
सरसफाई अभियानमा सांसदहरुको समेत सहभागिताले आफूहरुलाई थप हौसला प्रदान गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए । सरसफाई अभियानमा जनप्रतिनिधिहरुका साथै विभिन्न टोल विकास संस्था, क्लव, आमा समूह, शिक्षण संस्थालगायत स्थानीय बासिन्दाहरुको सहभागिता थियो । प्रतिनिधिसभा सदस्य भुसालले सरसफाई अभियान सामाजिक विकासको अभियान भएको बताउँदै यसको सह्रना गरे ।
सोमबारको सरसफाईमा झण्डै दुई टिप्पर फोहोर व्यवस्थापन गरिएको छ । यसरी व्यवस्थापन गरिएको फोहोरमा अधिकांश सुर्ती, गुट्खा, विभिन्न जङ्क फुडका खोललगायत प्लाष्टिकजन्य फोहोर रहेको छ । अभियानकै क्रममा विभिन्न व्यक्तिहरुले आफ्नो घर अगाडि, बुटवल–बेलहिया सिक्सलेन सडकको ‘ग्रीन जोन’ मा फूलका बिरुवाहरु रोपेका छन् ।
सोमबार स्थानीय पूर्णभद्र तिवारीले लुम्बिनी नर्सरीको प्राविधिक सहयोगमा बनाउन थालेको ‘सडक फूलबारी’ अभियानमा प्रतिनिधिसभा सदस्यद्धय भुसाल, प्रदेशसभा सदस्य गिरी, नगर प्रमुख घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरीलगायतले विभिन्न जातका फूल तथा विरुवा रोपेका छन् ।
त्यसक्रममा नगर प्रमुख घिमिरेले सबैको सामूहिक प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै नगरपालिकाको हरियाली प्रवद्र्धन कार्यक्रममा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे । एकपछि अर्को व्यक्तिले आफ्नो घर अगाडिको ‘ग्रीन जोन’ मा फूल रोप्न थालेपछि सिक्लेन सडक आकर्षक देखिन थालेको छ ।