तिमी काँडा बन-कविता - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

तिमी काँडा बन-कविता



 

कतै माया प्रेमका पिडामा
अल्झीएका र
तड्पिएका मनहरू,
धुमील तुवाँलोले,
ग्रसित मष्तिष्कहरु !
कतै बालुवा,गिटी,ढुङ्गा
सँग पोंईठे जोरी खेल्दै गरेका
घाम र दु:खमा
पिल्सिएका तनहरु,
कतै स्वार्थका बिलासी रङहरुमा
पल्किएका गणहरु
कतै संस्कार
त कतै संस्कृतिको
दोसाँधका हद-किलामा
अल्झीएका जनहरु !!

उसलाई पहाड फोर्नु छ ,
यसलाई इतिहास कोर्नु छ ,
त्यसलाई साँझ त ढल्यो नि
कठै
फेरी अर्को बिहान
एक गासको लागि
हातमुख जोर्नु छ !!

तेसैले,
तिमी देउता होइन दैत्य बन,
परिवर्तनशील सत्य बन,
गुलाब मात्र किन?
काडा फुलाउन सक्ने बारी खन,
निष्पक्ष र निष्कपट
न्याय दिलाउने सक्ने
न्यायमूर्ती बन,
के सक्छौ ?

फाटेका हरेक मनहरुले अब
सिलाएर जोड्न अनि उन्न
सियो र धागो पाउन,
कन्चन नयनहरु
र सफा हातहरू पाउन,
हरेक तनका मनहरुले
आभास हुनेगरी
आफ्नो अधिकार पाउन,
इतिहास कोर्नेहरु अमर रहुन,
असल परिवर्तनका लागि
मरेपछिका
सालिक बन्न सकुन ।

कति आशा गरौँ म
तिमी केवल तिमी
म, उ होइन
हामी र यो पनि होइन
यसलाई र उसलाई
पनि होइन
केवल तिमी,मात्र तिमी
कोमल पुष्प गुच्चाहरु किन ?
काडा रोप्ने हली बन
आखिर
तिमी गुलाब होइन काँडा नै बन,
जसले चसक्क घोंचोस,
अहो यो कस्तो
गजबको चाह छ
क्याबात छ !!

छवि पन्थी पृथक्
अर्घाखाँची , हाल : बेइजिङ