तिर्थ कोइरालाले पत्रकार महासंघमा उमेदवारी घोषणा गरे - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तिर्थ कोइरालाले पत्रकार महासंघमा उमेदवारी घोषणा गरे



काठमाडौँ ।

पत्रकार महासङ्घको निर्वाचन नजिकिदै गर्दा तिर्थ कोइरालाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा छन् । तिर्थ कोइरालाले पत्रकार हुन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका हुन् ।

पत्रकारले आफ्नो पेशाको मर्यादा नराख्दा नै पत्रकारितामाथि औँला उठ्न थालेकोले आफूले उमेदवारी दिएको उनको विज्ञप्तिमा उल्लेख छ ।

कोइरालाले जारी गरेको विज्ञप्ति

प्रिय पत्रकार मित्रहरू
आज म जुन भावनाका साथ उभिएको छु, बहुसङ्ख्यक मित्रहरू पनि यही भावनाका साथ टक्क अडिनु भएको हुनुपर्छ- अबको पत्रकारिताको बाटो कुन हो, कता लाने हो र कता लाग्ने हो ? यस्ता प्रश्नहरूको उत्तर खोज्दै । पत्रकारिता अब विशुद्ध पत्रकारको मात्र रहेन, सरकार र राजनीतिक दलहरूको मिशनमुखी मात्र पनि रहेन । अब यो पत्रकारका लागि पेशावृत्ति बन्यो र व्यवसायीका लागि नाफाका साथै राज्य र समाजलाई वशमा राख्‍ने व्यवसाय पनि बन्यो । हामी उभिएको अवस्था यही नेर नै हो । यो उपलब्धिसँगै खडा भएको चुनौती हो ।
हिजोका दिनमा नेपाली पत्रकारिता जगत यति जटिल थियो भन्ने मलाई लाग्दैनथ्यो । सम्भवत हाम्रा अग्रज पत्रकारहरुले यस्ता जटिलताहरुलाई समाधान गर्दै हामीलाई सरल र सुगम बाटो बनाई दिनु भएकोले होला । हामी सोही बाटोमा चुपचाप हिड्यौं । २०४६ को राजनीतिक परिवर्तन अघि हाम्रा अग्रज पत्रकारहरुले हामीलाई आत्मसात् गराउनु भयो कि, प्रजातन्त्रमा सबै विषय र गतिविधि प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार नैं चल्दै जाने छन् ।
हामीले यस्तै स्वाभाविक सोचाई राख्यौं । प्रजातान्त्रिक मान्यता अनुरूप तपाईँ हामीले विश्वास गर्‍यौँ कि पेशागत सङ्गठनहरू सामाजिक सङ्घ संस्थाहरू कर्मचारीतन्त्र सबैले आफ्नो मर्यादामा चल्नु पर्छ । र, राजनीति र पेसा व्यवसायबीच आपसमा सद्भाव सहयोगको अपेक्षा गर्नु जायज छ । तर हाम्रा कथन, मान्यता र विश्वासहरु कताकता बरालिए जस्तो देखियो । पत्रकारिता र राजनीति छ्यासमिस भयो । पत्रकारिताको समाजप्रतिको उत्तरदायित्वलाई नाफामुखी व्यवसायले अँचेट्यो, र मुलुकको राजनीतिलाई मूलप्रवाहीकरण गर्ने पत्रकारिता दलीय खोल्सामा माछा मार्न थाल्यो । यस्तो पनि देखियो कि मुलुक र राष्ट्रले तय गरेको मार्गमा पत्रकारिताले कतिपय घटनामा जनसमुदायलाई दीक्षित गर्नुको बदला भ्रमित गरायो । यो मेरो समीक्षा मात्र हो । यो कसैप्रतिको मेरो आग्रह वा विरोध होइन । पत्रकारिता र यसका मूल पात्र पत्रकार विचारविहीन हुन्छ वा दृष्टिकोण र सिद्धान्त नभएको हुन्छ वा हुनुपर्छ भन्ने कदापि होइन । पत्रकार स्पष्ट विचार सिद्धान्त भएको हुनुपर्छ र मुलुकले तय गरेको मार्गलाई फराकिलो बनाउने कार्ययोजनाका साथ उसले सञ्चार गर्नु पर्छ । यसो गरे पत्रकारिताले विश्वसनीयता गुमाउने छैन । एक अग्रज पत्रकारका शब्दमा “अहिले पत्रकारले पेसाको मर्यादा राख्न नसकेकैले पत्रकारिता माथि प्रश्न उठ्न थालेको छ । ” चिन्ता यही हो । सबै पत्रकार यस्ता छैनन् र पत्रकारिताको आमचरित्र पनि यस्तो होइन ; तर केहीमा यो प्रवृत्ति देखिनाले समग्र पत्रकारिताले आक्षेप खेप्नु परेको छ र पत्रकारिता विश्वास गुमाउने दिशातर्फ उन्मुख भइरहेको छ।
अहिले हरेक दलका नीति योजना र प्रचार प्रभावकारी बनाउन प्रचार संयन्त्र छन् प्रेस संयोजक वा प्रचार विभाग प्रमुख छन्, यो राम्रो पक्ष हो । दलहरूका भातृसंगठनहरु सरह पत्रकार सङ्घ सङ्गठन युनियन, चौतारी मञ्च वा सेन्टर पनि खुला रूपमा रहेका छन्, ती हाम्रो देशको पत्रकारितामा पक्षधरता देखिने देखाउने जिउँदा सत्यहरु हुन् । उनका गतिविधि, तीनले दिने अभिव्यक्ति, क्रिया र प्रतिक्रिया स्पष्ट उनका माउ सङ्गठनसँग मिल्दाजुल्दा हुन्छन् जसलाई सोही ढङ्गले हेरिन्छ यसमा कुनै लप्पनछप्पन पनि रहदैन । तर जब हामी ती भातृ सङ्गठन भन्दा फरक सङ्घ संस्थाको कुरा गर्छौ तिनको गरिमा र निस्पक्षता कायम राखिनु पर्छ । यसका लागि नेपाल पत्रकार महासङ्घलाई सत्ता राजनीतिको गठबन्धनबाट मुक्त मञ्च भइरहन दिनु पर्छ भन्ने मेरो स्पष्ट अडान रहदै आएको छ । राजनीतिक सद्भावसहित पेशागत मर्यादा र मान्यतायुक्त पत्रकार महासङ्घ बनाउनै पर्छ । यसो गरिएन भने पत्रकार महासङ्घको अझ हामी हरेक पत्रकारको विश्वसनीयता र इज्जतको एकमुष्टमा हत्या हुनेछ, साथै दलहरूको पनि ।
त्यसैले अहिलेको आवश्यकता भनेको बृहत् लोकतन्त्रमा विश्वास राख्ने तर दलीय राजनीतिको दैनिक खेल भन्दा अलि परको महासङ्घ हो । हामी दलीय व्यवस्थामा भएकै कारणले महासङ्घको निस्पक्षता जोगाउन आवश्यक हुन्छ । कुनै एउटा दलको पक्षधर होइन कुनै दल विशेषको राजनीति भन्दा पर रहेर बेलाबखत आइपर्ने दलहरुबीचको असमझदारी हटाउन मद्दत गर्ने, बेलाबखत दलहरूलाई मार्गदर्शन गर्ने जस्ता मध्यस्थकर्ता वा मार्गदर्शकको भूमिका पनि निर्वाह पनि गर्नु पर्ने हुन्छ । कतिपय अवस्थामा सञ्चार अनुगमन गर्ने, निर्वाचन पर्यवेक्षण, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका घटनामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने, अनुसन्धान, विश्लेषण र कुनै पनि विषयमा यसले दिने प्रतिक्रिया टिप्पणीलाई सच्चा न्यायालयबाट आउने ठहर सरहको मान्यता पाउने अवस्था कायम राख्न सक्यो भने मात्र प्राप्त लोकतन्त्रले पनि स्थायित्व प्राप्त गर्न सक्छ । स्थायी प्रजातन्त्र विना प्रेस स्वतन्त्रताको कल्पना गर्न सकिँदैन र स्वतन्त्र पत्रकारिता विना लोकतन्त्रले स्थायित्व पनि प्राप्त गर्न सक्दैन ।
यसबेला नेपाली पत्रकारितामा अकल्पनीय प्रविधि, उल्लेखनीय पुँजी र उत्साहजनक ढङ्गले जनशक्ति आकर्षित भएको छ । तर यस्ता अवसरहरुसँगै हाम्रा सामु जटिल प्रश्नहरू उव्जिएका छन्, जुन माथि उल्लेख गरिएका भए पनि दोहोर्‍याउन चाहन्छु । कतै पत्रकारिताले विश्वसनीयता गुमाउदै गएको हो कि ? बढी राजनीतिकरण भएको हो कि ? व्यावसायिक हुने नाउँमा व्यापारले बढी थिचेको हो कि ? भाषा, सीप, शैली र खोजमा पत्रकारिता कमजोर हुँदै गएको हो कि ? जस्ता प्रश्न मात्र होइन हामीलाई बेलाबखत जागिरमुखी बनेको र आफ्नैं देश पृष्ठभूमि र परिवेश नबुझेको आरोप पनि लाग्न थालेको छ । अर्कातिर महिना बितेर तलबको आशामा भौतारिनु पर्ने अवस्था पनि हामीबिच कम पीडादायी रूपमा रहेको छैन । आएको प्रविधिमा कुशल हुनु पर्ने चुनौती एकातिर छ भने अर्कातिर सानो ठुलो जुन लगानी आएको छ त्यसलाई सुरक्षित गर्ने परिस्थिति तर्फ सोच्नु पर्ने पनि कर्तव्य थपिएको छ । पत्रकारको दक्षता अभिवृद्धि गरेर विश्वसनीयता बढाउनु र पेशागत सुरक्षा तथा प्रेस स्वतन्त्रताका खातिर प्रजातन्त्रको पहरेदार पनि बन्नु परेको छ । यसरी हेर्दा नेपाल पत्रकार सङ्घको स्थापनाकालदेखि पत्रकार महासङ्घ पछिल्लो कालखण्डसम्म जारी लडाइँ यसरी नयाँ परिवेशमा प्रवेश गरेको देखिन्छ ।
यिनै अवस्था र मान्यता भित्र रहेर महासङ्घको लागि अबको नेतृत्व निर्माण गर्ने सहमतिका लागि म केही प्रमुख दल र तिनका सम्बद्ध सङ्गठन समक्ष पुगेर प्रयास पनि गरेँ। उहाँहरू यस विषयमा सहमत भए पनि यसलाई परिणामको तहमा पुग्ने गरी प्रस्तुत हुनु भएको छैन। तर मेरो आशा पनि मरेको छैन । त्यसैले दलहरूको सद्भाव कायम राख्दै प्रजातान्त्रिक/लोकतान्त्रिक मूल्य मान्यता अनुकूल पत्रकार महासङ्घको स्वत्व जोगाएर अगाडि बढ्ने नेतृत्व चयन गर्न पत्रकारहरु आफैँ सक्षम छन् भन्ने कुरा सिद्ध गर्ने चुनौती तपाईँ हाम्रा सामु खडा भएकोछ । विगत छ दशक भन्दा लामो इतिहास बोकेको महासङ्घ यसबेला आफ्नैं भवनमा छ, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र पत्रकारको न्यूनतम पारिश्रमिकको विषयमा उल्लेखनीय काम भएका छन् बिमा र औषधि उपचारका कामले सार्थक रूप लिदै गएका छन् अग्रज पत्रकारलाई सांकेतिक भए पनि सुविधा दिलाउने काम भएका छन् । स्वतन्त्रताको लडाइँ सकिदै गएपछि भएका यी र यस्ता उपलब्धिलाई अझ प्रभावकारी बनाउँदै जानु पर्ने छ । तपाईँ हाम्रो थप प्रयासले मात्र यो सम्भव छ भन्ने विश्वासका साथ म तपाईँ सामु उपस्थित भएको छु । यही विश्वास बोकेर यी र यस्तै चुनौतीको सामना गर्ने उद्धेश्यका साथ मैले नेपाल पत्रकार महासङ्घको आगामी भाद्र ४ र ५ गते हुने महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार बन्ने निर्णय गरेको छु ।
मेरो पृष्ठभूमि सबै सामु खुला छ मेरो पक्ष वा विपक्षमा उभिन तपाईँ पनि स्वतन्त्र हुनुहुन्छ । हाल मेरा लागि सबै राजनीतिक सिद्धान्तमा विश्वास राख्ने सबै दल सङ्गठन र व्यक्ति समान हुनुहुन्छ । अन्त्यमा म के स्मरण गर्न र गराउन चाहन्छु भने, मैले मेरो पेशागत जीवनमा आफ्नो कामका सिलसिलामा कहीँ कतै कहिल्यै आग्रह राखेर समाचार सम्प्रेषण गरेको र गर्न लगाएको छैन । तर तपाईँले तथ्यका आधारमा सार्वजनिक जीवनमा रहनेहरुका गतिविधि असल वा खराब भन्नु पत्रकारिताको धर्म हुनेछ जुन धर्म मैले पनि निर्वाह गर्दै आएको छु । यसबाहेक पटक पटक मैले नेतृत्व गरेका नेपाल वातावरण पत्रकार समूह र नेपाल प्रेस इन्ष्टिच्युट समेत म जहाँ जहाँ कार्यरत रहेँ राजनीतिक आग्रह विना सञ्चालन गरेको अग्रज पत्रकार, सहकर्मी साथीहरू जानकार हुनुहुन्छ । यसर्थ मेरो जीवनका ३४ वर्ष विताएको पत्रकारिताको मूल्य मान्यता कायम राख्दै यसलाई अझ समुन्नत तुल्याउँदै संस्थागत प्रयासमा जुट्ने मेरो अठोटमा सबैले पत्रकारको मत पत्रकारलाई भन्ने मान्यतामा रहेर आ-आफ्नो स्थानबाट सद्भाव सहयोग र आफ्नो अमूल्य मतदिनु हुने अपेक्षा गरेकोछु ।
धन्यवाद ।
तीर्थ कोइराला
२०७४ साउन ३०
काठमाडौँ ।