आजको मौसम- ६ वटा प्रदेशमा अत्यधिक वर्षा, जनजिवन प्रभावित हुनसक्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आजको मौसम- ६ वटा प्रदेशमा अत्यधिक वर्षा, जनजिवन प्रभावित हुनसक्ने



काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।

शुक्रबार देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।