टुटल र पठाओलाई बजेटमा चिट्ठा पर्‍यो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

टुटल र पठाओलाई बजेटमा चिट्ठा पर्‍यो



काठमाडौं : हालै प्रस्तुत बजेटले टुटल र पठाओलाई चिट्ठा परेको छ । यससंगै यस्ता राइड सेयरिङ सेवा प्रदायकलाई सुनौलो अवसर मिलेको हो ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरामा नआएका स्टार्टअप कम्पनीलाई करको दायरामा आए २०७५ भन्दा अघिको सम्पूर्ण कारोबारमा लाग्ने कर तथा जरिवाना मिनाहा हुने व्यवस्था गरेको बताए ।

‘नवितम सोच, सीप, उद्यमशीलता र प्रविधिको पयोग गरी स्टार्टअप व्यवसाय गरेका तर करको दायरामा नआएका व्यक्ति २०७६ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर र आयकरको दायरामा आए आर्थिक वर्ष २०७५/७६ भन्दा अघिका कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था बजेटमा उल्लेख छ ।

यो व्यवस्थाको प्रत्यक्ष फाइदा राइड सेयरिङ सेवा प्रदायक टुटल र पठाओलाई हुने देखिएको छ । यसअघि करको दायरामा नआएका टुटल र पठाओ जस्ता स्टार्टअप कम्पनीलाई राहत प्रदान गरेको छ ।

केही समयअघि सेवाग्राहीबाट भ्याट उठाएर राज्यलाई नबुझाएको भन्दै आन्तरिक राजस्व कार्यालय ललितपुरले टुटललाई जरिवाना र ब्याजसमेत गरी ३ करोड ३९ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । पठाओले पनि कर छली गरेको आशंकामा कर कार्यालयले छानबिन गरी कर र जरिवाना समेत ३० लाख रुपैयाँ निर्धारण गरेको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी प्रयोजनका लागि खरिद गरिएको सवारी साधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था छ । कानुन विपरीत सेवा सुरु गरेको भनी ट्राफिक प्रहरीले टुटल र पठाओलाई कारबाही सुरु गरेको थियो । यी कम्पनीको सेवालाई प्रधानमन्त्रीको सक्रियतामा पुनः सञ्चालन गर्न दिइएको थियो ।