फेरि संसद विघटन गर्नुपर्ने सम्भावना बढ्यो: टोपबहादुर रायमाझी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

फेरि संसद विघटन गर्नुपर्ने सम्भावना बढ्यो: टोपबहादुर रायमाझी



काठमाडौँ- नेकपा ओली समूहका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूहरू हर मोर्चामा भिड्न तयार रहेको बताएका छन् । काठमाडौंँमा आयोजित पार्टीको भेलालाई शुक्रबार सम्बोधन गर्दै निर्वाचनमा होस् वा सदनमा आफूहरू भिड्न तयार रहेको बताए ।

‘निर्वाचनमा भिड्न होस् वा सदनमा, हर मोर्चामा भिड्न तयार छौं,’ उनले भने, ‘अहिले पनि केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । त्यो बुझिराख्नु होला ।’

विघटन बदर भएर प्रतिनिधि सभा पुनःस्थापनापछि अब चार वटा सम्भावना रहेको उनले बताए । दाहाल–नेपाल समूहको नेतृत्वमा सरकार बन्नै नसक्ने बताउँदै अन्य कुनै दलले साथ दिए यसकै नेतृत्वमा सरकार बन्न सक्ने उनले बताए । तर त्यो सम्भावना ओलीसँग पनि रहेको उनको भनाइ छ ।

‘अब सम्भावनाहरु चार वटा छन्,’ उनले भने, ‘पार्टी छोडेर गएका साथीहरूको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । अरु कुनै पार्टीको नेताले जनमतविपरीत प्रधानमन्त्री हुन स्वीकार गरिदियो भने सरकार बन्ने झिनो सम्भावना छ । यो सम्भावना ओलीसँग पनि छ ।’

नेकपा फेरि एक हुनक्ने सम्भावना पनि रहेको उनले बताए । त्यसका लागि दाहाल–नेपाल समूह ओली समूहमा फर्किनुपर्ने उनको भनाइ छ । ‘कानुनी ‘रूपमा नेकपा फुटेको छैन । दाहाल–नेपाल समूह फेरि घर फर्किनु भयो भने ओलीकै नेतृत्वमा निरन्तर गइरहेने सम्भावना पनि छ । तर साथीहरू पर गइसक्नु भएको छ ।’

चौथो विकल्पमा पुनः प्रतिनिधि सभा विघटन भएर मध्यावधि चुनावमा जाने स्थिति पनि आउन सक्ने उनले संकेत गरे । ‘छोडेर गएकाले सरकारले बनाउने सम्भावना छैन,’ उनले भने, ‘अरु कुनै दलले पनि सरकार बनाउन मानेन भने के हुन्छ ? यही सरकार चलिरहन्छ । अविश्वासको प्रस्ताव पनि फेल भयो भने के हुन्छ ? सके सरकार बनाउने नभए कसैको सरकार बनेन भने फेरि मध्यावधि चुनावमा जाने सम्भावना पनि त्यतिकै छ । त्यो परिस्थिति एक नम्बरमा छ ।’