चतुर टोपबहादुर- माओवादीसँग बार्गेनिङ, एमालेसँग टाउको लुकाउँदै - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

चतुर टोपबहादुर- माओवादीसँग बार्गेनिङ, एमालेसँग टाउको लुकाउँदै



काठमाडौं- नेकपा एमालेका सचिव ‘टोपबहादुर रायमाझी यस्ता चतुर नेता हुन्, उनले सजिलै कसैको आँखामा फुलो पार्न सक्छन् ।‘ यो कथन हाम्रो होइन यो कथन हो उनसँग वर्षौंदेखि काम गरेका माओवादी नेताको । हो यस्तै फूलोपार्ने चतुर कलाले नै उनले गुनासो ल्याउनेलाई रित्तै फर्काउन सक्छन् । काम लिएर आउनेलाई कन्भिन्स गरेर पठाउन सक्छन् र प्रचण्डदेखि ओलीको मन पगाल्न सक्छन् । तर काम केही गर्दैनन् बस फुलो पार्छन् ।

शुक्रबारको एउटा घटनामा पनि यहि फर्मुला लागु भयो । एकातिर माओवादीसँग बार्गेनिङ गरे अर्कोतिर विज्ञप्ति निकालेर ओली र एमालेका नेतालाई रिझाए । बिहिबार बिहान उनले स्वकीयसचिव मार्फत प्रचण्डलाई पार्टीमा फर्किन चाहेको संदेशको खुलासा हिमालपोस्टले गरेपछि उनलाई तारन्तार फोन आउन थाल्यो । त्यसैक्रममा एक जना एमाले नेताले पनि उनलाई फोन गरेर सोधे ‘सचिव ज्यू समाचारमा आएको कुरा के हो ?’

त्यसलगत्तै टोपबहादुरको फेसबुक आइडीबाट एउटा विज्ञप्ति आयो । विज्ञप्तिमा एक जना माओवादी विद्यार्थी नेतालाई आरोप लगाएर लेखियो । हतारमा विज्ञप्ति जारी गर्दा उनले एमालेजनसँग टाउको लुकाउने कम मात्र गरे । समाचारमा प्रचण्डलाई भेटेको कहिं लेखिएको छैन तर उनले लेखेको विज्ञप्तिमा भने प्रचण्डलाई भेटेको भन्दै प्रचार गरिएको लेखेका छन् । यसै वाक्यबाट थाहा हुन्छ उनले एमालेका नेता रिझाउन र झारा टार्न मात्रै विज्ञप्ति निकालेका हुन् भन्ने ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘विभिन्न सामाजिक संजालहरूमा नेकपा एमाले  केन्द्रीय सचिव टोप बहादुर रायमाझी पुनः माओवादीमा फर्कदै र प्रचण्ड संग भेटघाट गरेको भन्दै अखिल क्रान्तिकारी का उपाध्यक्ष नारायण खनालले कुप्रचार गरेकोप्रति  मेरो  गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता खालका अराजनीतिक ,  कपोकल्पित र भ्रमको खेति नगर्न र पुन गरेमा कानुनी उपचार खोजिने व्यहोरा समेत जानकारी  गराउदै, म मेरो पदिय जिम्मेवारी र अर्घाखाँचीवासी जनताको हक, हित, र विकासका लागि रात दिन नभनी लागिरहने छु । यस्ता खालका कुप्रचारका पछाडि नलागी सबै नेता, कार्यकर्ता, शुभचिन्तक एकतावद्व भई निर्वाचनमा लाग्न हार्दिक अपिल  गर्दछु । टोप बहादुर रायमाझी, सचिव  नेकपा एमाले केन्द्रीय कमिटी’

हुन त टोपबहादुरले यस्ता खाले नौटंकी धेरै गर्छन । तर उनलाई सायद थाहा नभएको हुनुपर्छ, एउटा व्यक्तिलाई पटकपटक बेवकुफ बनाउन सकिँदैन । बेवकुफ बनाउनेहरू त्यसैमा लागेपनि बन्नेहरू भने सचेत हुन्छन ।

जिल्लाका कुनाकाप्चामा कतैबाट फ्याट्ट बजेट परिहाल्यो भने सामाजिक संजालमा लेख्न लगाउने, कसैको उद्दार भैहाल्यो भने आफैले गरेको भन्दै लेख्न लगाएर प्रचार गराउने नेता रायमाझीको पुरानै बानी हो । जिल्लामा उनका गुणगानवाला स्टाटस लेखेर गुजारा चलाउने पनि केही पात्र छन् ।

ती गुजारा चलाउने पात्रहरूलाई कतै समाचारमा र विरोधीका स्टाटसमा कमेन्ट गर्न लगाउने, गाली गर्न लगाउने उनको पुरानै पेशा हो । हिमालपोस्टले प्रामाणित गरेर लेखेको समाचारलाई लिएर उनलाई अहिले एमालेमा पनि समस्या भैरहेको छ तर एमाले पनि रिझाउनुपर्ने र माओवादीसँग पनि बार्गेनिङ गर्नैपर्ने उनको बाध्यता छ ।