राष्ट्रपति चुनावका लागि ट्रम्पलाई अयोग्य घोषित गर्न बाइडेनको माग - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राष्ट्रपति चुनावका लागि ट्रम्पलाई अयोग्य घोषित गर्न बाइडेनको माग



एजेन्सी–अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिदै गर्दा बहस तीव्र भएको छ। निर्वाचनको मिति अब १२ दिन बाँकी छ। यतिखेर चुनावअघिको अन्तिम बहसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडन सहभागी भइरहेका छन्।

टेनेसी राज्यको नास्भिलमा जारी यो बहसका लागि कोभिड–१९ विरूद्धको लडाइँ, अमेरिकी परिवार, जातीय विषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व छन्। बहसमा बोल्दै बाइडेनले अमेरिकामा कोरोनाका कारण २ लाख २० हजारभन्दा बढीको मृत्यु भएकाले ट्रम्पलाई चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने बताए। ट्रम्पले भने कोरोना भाइरसविरुद्धको खोप आउने तयारीमा रहेको बताए। उनले जलवायु परिवर्तनको लडाइँमा भारत, चीन र रुसको रेकर्ड खराब रहेको पनि बताए।

बाइडनका सल्लाहकारहरूले उनले उक्त कार्यक्रमलाई अमेरिकी जनतासँग सिधा कुरा गर्न प्रयोग गर्ने बताएका छन्। ट्रम्पका एकजना रणनीतिकारले भने ट्रम्पले जो बाइडनलाई बोल्न दिएर उनलाई गल्ती गर्न दिनुपर्ने बताए।

बहसअघि विवादित अन्तर्वार्ता

यसअघि राष्ट्रपति ट्रम्पले पूर्वाग्रही अन्तर्वार्ता भन्दै आफ्नै एउटा रेकर्डिङ सार्वजनिक गरेका छन्।

अन्तर्वार्ता लिने सीबिएस न्यूज च्यानलले ट्रम्पले आइतबार प्रसारण हुने उक्त अन्तर्वार्ताको फुटेज पहिल्यै सार्वजनिक गर्न नपाइने आफूसँगको सम्झौता तोडेको जनाएको छ। ट्रम्पले उक्त अन्तर्वार्तामा आफूप्रति घृणा र कठोरता प्रस्तुत गरिएको जनाएका छन्।

अन्तर्वार्ताकारले राष्ट्रपतिलाई अर्थतन्त्र, महामारी र स्वास्थ्य सेवाका बिषयमा जोड दिएर प्रश्नहरू सोधेका थिए।

सिबीएस न्यूजले यस घटनालाई अकल्पनीय बताउँदै त्यसबाट आफ्नो तटस्थ र सान्दर्भिक रिपोर्टिङमा विचलित नभएको जनाएको छ।