सीको भ्रमणपछि ट्रम्प र पुटिनलाई पनि निम्तो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सीको भ्रमणपछि ट्रम्प र पुटिनलाई पनि निम्तो



काठमाडाैं- सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउन सक्ने बताएका छन् ।

मन्त्रीपरिषदको निर्णय सुनाउन गरिने नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका प्रश्नहरु सम्वोधन गर्दै उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ्गको भ्रमण हरेक रुपमा सफल रहेको बताए। ‘यो भन्नका लागि भनेको होइन, यो भ्रमणमा २० वुदेँ सहमति भएको कुरा सवैलाई थाहा छ’ उनले भने, ‘राजनीतिक, विकास लक्ष्य र सम्वन्धको रुपमा यो भ्रमणलाई हेर्नुपर्दछ।’

सीको भ्रमणपछि दुई देशको बीचमा यो एउटा विशिष्ट प्रकारको सम्वन्ध स्थापित भएको उनले दावी गरे। चिनियाँ राष्ट्रपतिको सम्वोधनमा यो उल्लेख भएको भन्दै उनले यो तहको भ्रमण धेरैपछि भएकाले यसलाई सोही रुपमा मूल्यांकन हुनुपर्ने बताए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउन सक्ने ।

‘चीन र नेपाल हिजोको अवस्थामा छैनन्,’ उनले भने, ‘यो बदलिँदो अवस्थामा भएको भ्रमणले उच्चस्तरको विश्वसनीयता कायम भएको छ ।’ नेपाल आकार, जनसंख्या र आर्थिक रुपमा तुलना हुन नसक्ने गरी कमजोर भएपनि चिनियाँ राष्ट्रपति सीले उच्च महत्व दिएको उनले दावी गरे । ‘नेपालको अवस्थालाई महत्व दिएर चीनका राष्ट्रपति नेपाल आउनुभएकाले नेपालको छवि तुलनै हुन नसक्ने गरी उचाईमा पुगेको छ,’ उनले भने ‘विश्वभरको सञ्चार माध्यमले आ–आफ्नो रुपमा टिप्पणी गरेका छन् । नेपाल अन्तराष्ट्रिय जगतमा चिनिएको छ।’

यो भ्रमणले प्रधानमन्त्रीले देखेको भुजडित नेपालको सपना पूरा भएको उनको भनाइ छ। ‘यो भ्रमणपछि अव नेपाल समुन्द्र, हवाई र आधुनिक विकासमा सधैं अगाडि वढ्न सक्ने भएको उनले बताए । सीको भ्रमणका क्रममा रणनीतिक साझेदारी गर्ने भनिएको सम्झौता सैन्यतर्फ संकेत गरेको हो ? भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिए, ‘यो गलत वुझाई हो। नेपाल असंलग्न नीतिमा अडिक छ।’

उनले नेपाली सेनालाई भारत, चीनलगायत अन्य देशले पनि सहयोग गर्दै आएको र भोलिका दिनमा पनि गर्न सक्ने बताए। ‘हामीले विकास र समृद्धिको प्रश्नमा चीनसँग रणनीतिक साझेदारी रहेका हौं,’ उनले भने ‘हामी असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्दछौं। सैन्य गतिविधीमा हामीले सोचेका छैनौं।’

अमेरिकी र रुसका राष्ट्र प्रमुख आउन सक्छन्

आगामी दिनमा नेपाल भ्रमणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउन सक्ने मन्त्री बाँस्कोटाले बताए । उनीहरुको भ्रमण गराउने तयारी सरकारले गरेको हो ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘हाम्रा प्रयासहरु हुने छन्। उहाँहरु आउनुभएमा हामी खुशी हुनेछौं। हामी सवै देशका राष्ट्रप्रमुखलाई निम्ता दिन्छौ,’ उनले भने, ‘हामी मिति तोक्न सक्दैनौ। आ–आफ्ना अनुकुलताको कुरा हुन्छ।’

उच्चस्तरीय राजनीतिक भ्रमणमा सरकारले प्राथमिकता दिने उनले बताए । सगरमाथा डाइलग र जलवायु परिर्वतनका विषयमा हामी लिड गर्नुसक्नु पर्ने उनले बताए। ‘हामीले यसका लागि उच्चस्तरीय भ्रमणको अपेक्षा गरेका छौं,’ हामी सुरक्षा प्रदान गर्न र स्वागत गर्न सक्छौं’ उनले भने, ‘हामीले सम्मान दिने हो बाँकी उहाँहरुले नै दिने हो । हाम्रो प्रयास सवै देशका राष्ट्रप्रमुखलाई नेपाल ल्याउने हुनेछ।’