ट्रम्पमाथि ३४ वटा मुद्दा, पक्राउपछि भने- यस्तो दिन आउँला भन्ने कल्पना समेत गरेको थिइन - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ट्रम्पमाथि ३४ वटा मुद्दा, पक्राउपछि भने- यस्तो दिन आउँला भन्ने कल्पना समेत गरेको थिइन



काठमाडौं । पोर्नस्टार स्टर्मी डेनियलसँगको अफेयर र त्यसपछि घटना लुकाउन पैसा दिएको भन्ने मुद्दामा अदालतमा पेश हुन न्युयोर्क पुगेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ वटा आरोपमा मुद्दा लगाइएको छ ।

उनलाई न्युयोर्कको म्यानहेट्टन ग्राण्ड जुरीले आपराधिक मुद्दा चलाउने निर्णय गरेको थियो ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न स्टारसँगको अफेयर र यसबारे चुप बस्न पोर्न स्टार स्ट्रोमी डेनियल्सलाई एक लाख ३० हजार डलर दिएको र यसका लागि व्यापार अभिलेखमा गडबडी गरेको आरोप लागेको छ ।

ट्रम्पले भने आफूमाथि लागेका सम्पूर्ण आरोपहरूको खण्डन गर्दै यसलाई राजनैतिक अभियोजनको संज्ञा दिँदै आएका छन् ।

सिएनएनका अनुसार अदालतको अर्को सुनुवाइ डिसेम्बर ४ मा हुनेछ । ५७ मिनेटको सुनुवाइपछि फ्लोरिडास्थित आफ्नो घर ‘मार-ए-लागो’ पुगेका ट्रम्पले मिडियासँग संक्षिप्त कुराकानी गर्दै अमेरिकाको इतिहासमा यस किसिमको दिन आउँला भन्ने नसोचेको बताएका छन् ।

‘मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकी इतिहासमा यस्तो घटना हुनेछ। मैले गरेको एउटै अपराध भनेको मेरो देशलाई नष्ट गर्न चाहनेहरूबाट निडरताका साथ रक्षा गर्नु हो,’ उनले भने ।

ट्रम्पले मङ्गलवार राति करिब ११:३० बजे अदालत बाहिर आत्मसमर्पण गरेका थिए । त्यसपछि न्युयोर्क प्रहरीले उनलाई हिरासतमा लिएको थियो । सीएनएनको रिपोर्टका अनुसार ट्रम्पलाई एउटा कोठामा लगेर उनको औँठाछाप र फोटो खिचिएको थियो । त्यसपछि उनलाई न्यायाधीश समक्ष पेश गरिएको थियो ।