अमेरिकी राष्ट्रपतिले दिए फेसबुक र ट्वीटर बन्द गर्ने चेतावनी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अमेरिकी राष्ट्रपतिले दिए फेसबुक र ट्वीटर बन्द गर्ने चेतावनी



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड जे. ट्रम्पले सामाजिक सञ्जाल नै बन्द गराइदिने धम्की दिएका छन् । आफ्ना दुई ट्वीटलाई ट्विटरले फ्याक्ट चेकिङ चेतावनीको बिल्ला भिराएपछि सामाजिक सञ्जाल नै बन्द गराइदिने धम्की उनले दिएका हुन् ।

उनले अमेरिकी निर्वाचनमा ट्विटरले हस्तक्षेप गरेको र अभिव्यक्ति स्वतन्त्रतालाई पूरै दबाएको आरोप समेत लगाएका छन् ।

त्यतिले मात्र नपुगेर ट्रम्पले बुधवार यस्तो ट्वीट गरे, ‘कन्जर्भेटिभहरूको आवाजलाई सामाजिक सञ्जालका प्लेटफर्महरूले दबाउने गरेको रिपब्लिकनहरूको अनुभव छ । त्यसो हुनुअघि हामी यस्ता प्लेटफर्मलाई कडा नियमन गर्न वा पूरै बन्द गरिदिन्छौं । उनीहरूले सन् २०१६ मा यस्तै गर्न खोजेका थिए र विफल भए । अहिले त्यसैको विकसित संस्करणलाई हामी अनुमति दिने छैनौं ।’

हुलाकबाट मत दिने काममा व्यापक भ्रष्टाचार र धोकाधडी हुने भनी ट्रम्पले गरेको ट्वीटलाई ट्विटरले मंगलवार फ्याक्ट चेक गर्नुपर्ने भनी लेबल लगाएको थियो । त्यसले ट्रम्पलाई क्रुद्ध बनाएको हो ।