ट्रम्पले भने: ढुक्क हुनुहोस, अब ३० दिनमा कोरोनाविरुद्धको युद्ध जितिन्छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ट्रम्पले भने: ढुक्क हुनुहोस, अब ३० दिनमा कोरोनाविरुद्धको युद्ध जितिन्छ



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश कोरोना भाइरस महामारीको संक्रमणको उच्चतहमा पुग्न बाँकी नै रहेको तर त्यसबेलासम्म अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध हुने दाबी गरेका छन्।

देशले कोरोना भाइरस महामारीको अत्याधिक संकटपूर्ण अवस्था सामना गर्नु पर्दा पनि भेन्टिलेटरको संख्या अति उपयुक्त मात्रामा उपलब्ध हुने ट्रम्पले दाबी गरेका हुन्।

अहिले कम्तिमा १० अमेरिकी कम्पनीहरुले भेन्टिलेटरसहितका अत्यावश्यक चिकित्सा सामग्री उत्पादन गरिरहेको छ र यस्ता कम्पनीहरु थपिन सक्ने बताएका छन्।

नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ का बिरामीमा स्वासप्रस्वासमा गम्भीर समस्या हुन्छ । भाइरसले फोक्सोमा आक्रमण गर्ने भएकाले बिरामीहरुलाई सास फेर्न सजिलो बनाउनका लागि भेन्टिलेटरको आवश्यकता पर्छ ।

अमेरिकाका बढी प्रभावित शहरका अस्पतालहरुमा भेन्टिलेटरसहितका चिकित्सा सामग्रीको अभाव हुँदै गएको छ । यस्तै व्यक्तिगत सुरक्षात्मक सामग्री, टेस्ट किट, मास्कसहितको पनि अभाव हुन थालेको बताइएका बेला ट्रम्पले भने भेन्टिलेटरसहितका चिकित्सा तथा पिपिईको उपलब्धतामा चिन्ता लिनु पर्ने अवस्था नरहेको दाबी गरेका हुन् ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म तीन हजार १४८ जनाको मृत्यु भएको छ । यसमध्ये न्यूयोर्कका झण्डै ८०० जना छन् । न्यूयोर्क कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित राज्य हो । अमेरिकामा अहिलेसम्म एक लाख ६३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘अहिले १० कम्पनीले भेन्टिलेटर बनाइरहेका छन्, हामीले त्यसका लागि स्वीकृति दियौँ । वास्तवमा भन्ने हो भने विश्वका अरु कुनै देशले यस्तो गर्न सक्दैनन् ।’

अबको दुई हप्तामा अमेरिकामा कोरोना भाइरस संक्रमणको उच्च संकट उत्पन्न हुने विज्ञले बताएका छन् । त्यस बेला आवश्यक परेका जति सबै बिरामीले भेन्टिलेटर पाउँछन् त भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले जवाफ दिँदै भने, ‘मलाई लाग्छ हामी अति राम्रो अवस्था हुने छौँ भेन्टिलेटरसहितका सामग्रीको उपलब्धताका हिसाबले ।’

१० लाख भन्दा बढी अमेरिकमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण गरिएको पनि राष्ट्रपति ट्रम्पले बताए । उनले भने, ‘हामीले १० लाख भन्दा बढीको परीक्षण गरिसक्यौँ, अरु देश यसको नजिक पनि छैनन् ।’

ट्रम्पको जवाफपछि प्रश्न गर्दै एक पत्रकारले दक्षिण कोरियामा भएको परीक्षणको उदाहारण दिएका थिए । ट्रम्पले भने ती पत्रकारकै अपमान गरे र आफ्नो प्रशासनले कोरोना भाइरसविरुद्धको युद्धका लागि गरिरहेको कामका लागि बधाइ दिनु पर्ने बताए ।

ट्रम्पले देशका विभिन्न राज्यका गभर्नरले अत्यावश्यक चिकित्सा सामग्री लुकाएको वा अनावश्यक रुपमा सञ्चय गरेर राखेको गम्भीर आरोप पनि लगाएका छन् । अस्पतालबाट चोरी गरेर मास्कसहितका सामग्री गभर्नरले लुकाएको आरोप ट्रम्पले लगाएका हुन् । उनले आफ्नो कुनै पनि आरोपको प्रमाण भने दिएनन् ।

उनले अबको ३० दिनभित्र संकटपूर्ण समय आउने तर त्यसमा ठूलो विजय प्राप्त गर्ने दाबी गरे । त्यसका लागि सबैले सामाजिक दूरी कायम गर्नु पर्ने बताए ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका पत्रकारले ट्रम्पका पूर्व प्रतिक्रियाहरुबारे प्रश्न गरेका थिए । ट्रम्पले यसअघि कोरोना भाइरसको संक्रमण छल मात्रै रहेको बताएका थिए ।

उनले सामाजिक दूरी पनि आवश्यक नरहेको बताउने गरेका थिए । सिएनएन पत्रकारले यी कुराबारे सोध्दा ट्रम्पले ‘मैले भनेका ती सबै कुरा सत्य हुन्’ भने ।

उनले भने, ‘देशमा म अत्तालिएको अवस्था चाहँदिन । मैले देशलाई तिम्ले (सिएनएन पत्रकार) भन्दा राम्रोसँग अत्तालिने बनाउन सक्ने थिएँ ।’