डोनाल्ड ट्रम्पले एकाएक फेरे बोली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डोनाल्ड ट्रम्पले एकाएक फेरे बोली



काठमाडौं- लामो समय स्वास्थ्य विज्ञको सुझाव विपरित मास्कको विपक्षमा लगातार अभिव्यक्ति दिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली फेरिएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढ्दै गएको र नियन्त्रणमा आउन सक्ने अवस्था तत्कालका लागि नदेखिएपछि ट्रम्पले मास्कको पक्षमा बोल्न थालेका हुन् ।

लगातार मास्क नलगाउने बताएका र मास्क लगाउनु पर्ने उनकै प्रशासनको आधिकारिक निर्देशनको पालना नगरेका ट्रम्पले अहिले आएर मानिसहरुको अति भिड भएको स्थानमा आफूले मास्क लगाउने बताएका हुन् ।

ट्रम्प मास्क लगाएर सार्वजनिक रुपमा देखिएन चाहँदैनन्, यस्तै उनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि छोप्नु पर्ने बाध्यकारी नियम पनि आवश्यक नरहेको बताउने गरेका थिए ।

एक शीर्ष रिपब्लिकनले उदाहरणका रुपमा मास्क लगाउन ट्रम्पलाई सुझाव दिएको भोलिपल्ट फक्स न्यूजसँग ट्रम्पले मानिसको अति भिड भएको स्थानमा मास्क लगाउने बताएका हुन् ।

अमेरिकामा पछिल्ला दिनमा संक्रमण तथा मृत्युदर लगातार बढिरहेको छ । अहिलेसम्म अमेरिकामा २६ लाख भन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक लाख २७ हजार भन्दा धेरैको ज्यान गएको छ ।

फक्स बिजनेश नेटवर्कसँग बुधबार कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘म जहिले पनि मास्कको पक्षमा छु । यदी म मानिसहरुको भिड हुने स्थानमा भएँ भने लगाउने छु ।’

आफूले यसअघि एकपटक मास्क लगाएको र त्यो मानिसहरुले देखेको ट्रम्पले बताए ।

ट्रम्पले बुधबारको अन्तर्वार्तामा सार्वजनिक रुपमा मास्क लगाउन आफूलाई कुनै समस्या नरहेको र मास्क लगाउने आफू राम्रो देखिने पनि बताए ।

तर यसअघि उनले लगातार आफू सार्वजनिक रुपमा मास्क लगाउन नचाहने र मास्क लगाउँदा राम्रो पनि नदेखिने बताउँदै आएका थिए ।

बुधबारको अन्तर्वार्तामै पनि ट्रम्पले मास्क लगाउनु पर्ने बाध्यकारी नियम लागु गर्न नहुने बताएका छन्।

आफूलाई अझै पनि कुनै दिन कोरोना भाइरस आफै हराउने वा लुप्त हुने विश्वास रहेको ट्रम्पले पुनः बताएका छन् ।

आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ । ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिँदै छन् ।

बाइडनेले कोरोना भाइरस महामारी नियन्त्रणका लागि ट्रम्पको प्रयास अति फितलो रहेको भन्दै आलोचना गर्ने गरेका छन् । पूर्व उपराष्ट्रपति समेत रहेको बाइडेनले लगातार मास्क लगाउँदै आएका छन् ।