तुम्बाहाम्फे भन्छिन: राजसंस्था फालियो, अब अहिलेको सत्ता फाल्नुपर्छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तुम्बाहाम्फे भन्छिन: राजसंस्था फालियो, अब अहिलेको सत्ता फाल्नुपर्छ



काठमाडौं- उपसभामुखबाट राजीनामा दिएपछि डा.शिवमाया तुम्बाहाङफेले राजसंस्था सजिलै फालेको भएपनि अहिलेको सत्ता फाल्न बाँकी रहेको प्रतिक्रिया दिएकी छन्।

सोमबार उपसभामुखबाट राजीनामा दिएपछि संचारकर्मीसँग भनिन्, ‘नेपालमा पितृसत्ता एकदम बलियो छ। राजसंस्थालाई सहजै फालिदियौं, तर पितृसत्ता फाल्न बाँकी छ, गाह्रो पनि छ।’ जसका कारण केही गलत नगर्दा पनि उपसभामुखबाट राजीनामा दिनु परेको उनको आशय थियो।

उनी आफूलाई सभामुख बनाउनु पर्ने माग गर्दै आएकी थिइन्। तर, नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। अग्नी सापकोटाले बाजी मा¥यो नि भन्ने प्रश्नमा उनले अब ‘ट्रयाक’ बदल्ने बताइन्। ‘बाजी मैले नै मारेँ। अब मेरो कामको ट्रयाक चेन्ज भएको छ। म नयाँ लक्ष्यसहित अगाडि बढ्नेछु,’ डा.तुम्बाहाङफेले भनिन्। उनले ‘ट्रयाक चेन्ज’बारे भने केही बताइनन्।

संसदलाई नेतृत्वविहीन नबनाउन अहिलेसम्म राजीनामा नदिएको उनको भनाइ थियो। संसदले नेतृत्वविहीनको कल्पना नगरेको उनले बताइन्। संसदमा ठूलो दलले सभामुखको टुंगो लगाएकाले राजीनामा दिएको उनको भनाइ थियो।

उनले कसैको करबलमा अडान नलिएको बताइन्। ‘मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन, संविधान थियो,’ उनले भनिन्, ‘मलाई संविधानले नै यहाँसम्म पुर्‍याएको हो।’

उनले कसैको निर्देशनमा राजीनामा नदिएको बताइन्। ‘नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ,’ उनले भनिन्।

बलात्कार आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद रिक्त रहेको छ।

संविधानअनुसार, सभामुख र उपसभामुख एउटै दलको नहुने भएकाले नेकपाले डा.तिम्बाहाङफेलाई राजीनामा दिन निर्देशन दिएको थियो। उनले आफूले गलत नगरेकाले राजीनामा नदिने बताउँदै आएका थिइन्। आफूलाई सभामुख बनाउनु पर्ने उनको अडान थियो।

तर, आइतबारको नेकपा सचिवालय बैठकले अग्नी सापकोटालाई सभामुखको उम्मेदावर बनाउने निर्णय गरेपछि उनले आज राजीनामा दिएकी हुन्। संसदमा राजीनामा दिने जानकारी गराउँदा उनको गला अवरुद्ध भएको थियो।

‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले आफ्नो नेतृत्व दाबा गरेको अवस्था, हाम्रो प्रचलित संवैधानिक व्यवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजिकरण गर्नु आवश्यक भएको छ,’ उपसभामुख तुम्बाहाङफेले गला अवरुद्ध भएपछि केहीबेर रोकिएर भनिन्, ‘त्यसैले मैले, अँ, यसै अनुसार मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु।’