युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १६ को मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १६ को मृत्यु



युक्रेनको राजधानी किभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार हेलिकोप्टर दुर्घटना भएको छ ।

उक्त हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।

अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन ।

राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । गृह मन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ ।

४२ वर्षीय गृहमन्त्री मोनास्ट्रास्केका दुई सन्तान छन् । उनी दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए । १० जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ ।

दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।