देश चलाउनेहरु सक्षम भए कोरोना पनि जित्न सकिन्छ भन्ने यस्तो उदाहरण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देश चलाउनेहरु सक्षम भए कोरोना पनि जित्न सकिन्छ भन्ने यस्तो उदाहरण



एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणको महामारीबाट चीनपछि सबैभन्दा बढी प्रभावित हुने मुलुक ताइवान हो भन्दै भविष्यवाणी गरेको थियो । तर डब्लुएचओको यो भविष्यवाणी अहिले गलत सावित भएको छ ।

यस्तो हुनुमा कुनै प्राकृतिक या अलौकिक शक्तिको हात छैन । ताइवानका उपराष्ट्रपति एवं महामारी रोग विशेषज्ञ डा. चेन चिएन जेनको सुझबुझका कारण यस्तो सम्भव भएको हो ।

सन २००३ मा सार्सको महामारी फैलिएका बेला जेन स्वास्थ्यमन्त्रीको पदमा थिए । उनले त्यहीबेला सरुवा रोगको महामारीबाट बच्ने उपायबारे खोजीनीति गरी जनस्वास्थ्यको क्षेत्रमा राम्रो सफलता हासिल गरिसकेका थिए ।

यसका अलावा भविष्यमा आइपर्ने महामारीका बारेमा पनि सोच्न भ्याएका थिए । त्यहीबेला उपराष्ट्रपति जेनले राष्ट्रिय स्तरमै आपत प्रवन्धन केन्द्रको स्थापना गरेका थिए । ताइवानमा आजभन्दा १७ वर्षअघि आइसोलेशन वार्ड र भाइरसबारे खोज र अनुसन्धान गर्न सुविधा सम्पन्न प्रयोगशालाहरुको स्थापना गराएका थिए ।

त्यहि बेला डा. जेनले चिकित्सकहरुको सुरक्षाका लागि पीपीई र परीक्षणका लागि किट बनाउने काम गर्न पनि भ्याएका थिए । यी सबै प्रयासहरुको पहिलो फाइदा ताईवानले सन् २००९ मा स्वाईन फ्लु फैलिएको बेला उठाउन पायो । अनि त्यसबेलाको त्यो प्रयास अहिले कोरोना भाइरस संक्रमण विरुद्धको कदम उठाउन पनि सहायकसिद्ध बनेको छ ।

३१ डिसेम्बरमा चीनको बुहानमा मानिसहरु निमोनियाबाट धमाधम विरामी पर्न थालेको बेला उपराष्ट्रपति एवं महामारी रोग विशेषज्ञ डा. चेन चिएन जेनले नजिकिंदै गरेको खतराको संकेत पाइसकेका थिए ।

उनले तत्कालै कोरोना भाइरस संक्रमण विरुद्धको एक्सन प्लान बनाए । चीनसँगको हवाई उडानलाई सीमित गराए । सार्वजनिक रुपमा स्क्रिनिङको काम सुरु भयो । आशंकित संक्रमितहरुलाई तत्काल क्वारेन्टाईन पठाइयो ।

देशका सबै सीमाहरु पूर्ण रुपमा बन्द गरिए । नेशनल हेल्थ कमाण्ड सेन्टर मातहत रहेको सेन्ट्रल एपिडेमिक कमाण्ड सेन्टरलाई पूर्ण रुपमा सक्रिय पारियो । ताइवानमा पहिलो कोरोना संक्रमित जनवरी २१ मा फेला परेका थिए ।

त्यसलगत्तै कोरोनाविरुद्धका सबै कामहरु युद्धगतिमा अघि बढाइए । मास्क उत्पादनको क्षमता बढाउनेदेखि लिएर फोनबाट नागरिकहरुलाई कोरोनासम्बन्धि सबै सूचना प्रवाह गर्ने काम भयो ।

जनवरीको अन्तसम्म ताइवानमा साढे चार करोड बढी सर्जिकल मास्कको भण्डारण रहेको थियो । यस्तै सुझबुझपूर्ण प्रयासहरुका कारण ताइवानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या जम्मा ४४० रहेको छ भने ७ जनाले मात्रै ज्यान गुमाएका छन ।

अबको केही दिन अर्थात २० मेका दिन उपराष्ट्रपति पद छाड्न लागेका डा. चेन चिएन जेनले बाँकी समय कोरोना भाइरसबारे गहन अध्ययन र अनुसन्धान गर्ने बताएका छन ।