महाकाली: बाढीमा फसेका पाँचजनाले रुखमा चढेर गरे उद्धारको याचना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

महाकाली: बाढीमा फसेका पाँचजनाले रुखमा चढेर गरे उद्धारको याचना



कञ्‍चनपुर- भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन्।

सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती, अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ।

स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन्। बाढीमा फसेका परिवारको उद्धारका लागि बीओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ। बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्‍न ढिलाइ भएको छ।

यसैबीच, दोधरा चाँदनी–१० कुतियाकभरस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ। क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यायमा सरेको छ।

सुकाएको धान बगायो

लगातारको वर्षाका कारण लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगेर क्षति भएको छ। अत्यधिक वर्षाका कारण खेतमा काटेको धान दोदा नदीमा बगेर गएपछि स्थानीय किसान मर्कामा परेका छन्।

नन्दगाउँ, कस्वा, विनावारी, नौरङ्गा, विचवालगायत क्षेत्रका किसानले खेतमा काटेको धान पूरै बगेर गएपछि करोडौंको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारी दिए। ‘केही ठाउँमा दोदा नदीको पानी पसेपछि बग्यो,’ उनले भने, ‘केही ठाउँमा वर्षाको पानीले बगाएर धान नदीमा पुर्‍यायो। निकै ठूलो क्षति भएको छ। पानी पर्न थालेको ४८ घण्टा बित्न लागेको छ । पूरै खेत र बस्ती जलमग्‍न छन्। काटेको सबै धान बगेको छ।’

नेपाली कांग्रेसका लाझाडी गाउँ कार्यसमितिका सभापति श्रीकृष्ण रानाका अनुसार धानबाली पूरै नदीमा बगेको टुलुटुलु हेर्नुबाहेक अर्को विकल्प छैन। ‘निकै ठूलो नोक्सानी भएको छ । किसानले भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । नदी गाउँ पस्दा विगतमा डुबानमा पार्ने गरेको थियो । खेतमा लगाएको बाली नै बगाएर लगेको थिएन । यस बर्ष बाली भित्र्याउने तर्खर सुरु हुनै लाग्दा पूरै बग्यो,’ उनले भने।

स्थानीय लक्ष्मण रानाले दश कट्ठा जग्गामा लगाएको धानबाली पूरै नदीले बताएको बताए। काटेर सुकाउन राखेको धानसँगै मुठा बाँधेर राखेको धानसमेत बगेको उनले बताए।

दोदा नदीको जलस्तर अहिले ३ दशमलव ५ मिटर रहेको छ। नदीको पानीले चेतावनी तह पार गरेको छ। अझै वर्षा भए नदी गाउँपालिका क्षेत्रका गाउँमा पस्‍ने खतरासमेत बढेको छ। गाउँपालिकाका होचा ठाउँमा भने नदीको बाढीको पानी पसेको छ। नदीले जग्गा कटानको कार्यसमेत तीव्र रुपमा गरिरहेको छ।