५७ वर्षीय यी महिला: जसमा भेटिएको थियो पहिलोपटक कोरोना भाइरस - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

५७ वर्षीय यी महिला: जसमा भेटिएको थियो पहिलोपटक कोरोना भाइरस



एजेन्सी- कोरोना भाइरसको महामारीले अहिले विश्व अक्रान्त बनेको छ। विश्वका शक्तिशाली देशहरु पनि यो महामारीका अगाडि घुडा टेकेका छन्।

अमेरिका, बेलायत, इटाली, स्पेन, जर्मनी, फ्रान्स, दक्षिण कोरियाजस्ता देशमा यो महामारीले विकराल रुप लिएको छ। तर कोरोना भाइरसको उदगम स्थाल चीनमा भने यतिबेला महामारी शून्यमा झरेको छ।

कोरोना भाइरसको महामारी विश्वमै फैलिरहेको बेला यो पहिलोपटक कुन व्यक्तिमा लागेको होला भन्ने आम चासो हुनसक्छ।

हालै चीनको उहानमा एक नर्सले यसको राज खोलेकी छन्। कोरोना भाइरसको संक्रमण पहिलोपटक एक ५७ वर्षीया महिलामा देखिएको थियो। उनी चीनको उहानमा झिंगा बेच्ने काम गर्थिन्।

उहानको एक अस्पतालमा कार्यरत नर्सका अनुसार उनको नाम बेइ गुइजियान हो। उनमा नै कोरोना भाइरसको पहिलो संक्रमण भेटिएको थियो।

अहिले उनी निको भइ घर फर्किसकेकी छन्। एक महिनाको उपचारपछि उनी घर फर्किएकी थिइन्। डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण जनवरीमा ठीक भइ उनी घर फर्किएको ती नर्सले बताएकी छन्।

चीनको एक अनलाइन द पेपरको रिपोर्टअनुसार उनी डिसेम्बर १० मा उहानस्थित सीफुड बजारमा झिंगा बेचिरहेकी थिइन्। ‘अचानक म बिरामी भएको महसुस गरेँ। मलाई असहज भएपछि नजिकैको मेडिकलमा गएर औषधि गराएँ र फेरि बजार फर्किए,’ ती महिलालाई उद्धृत गर्दै द पेपरले उल्लेख गरेको छ। उनले स्वास्थ्य अवस्था झन् झन् बिग्रिन थालेपछि उहानकै द इलेवन्थ अस्पतालमा गई उपचार गराएकी थिइन्। त्यहाँ पनि कारण पत्ता लागेन, औषधि बोकेर उनी घर फर्किइन्।

३१ डिसेम्बरमा बल्ल ती महिलामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। उनीसँगै अन्य २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। तर उनी पहिल्यदेखि अस्पताल धाइरहेकाले कोरोना भाइरसको संक्रमण गुइजियानमै पहिलो भएको द पेपरले उल्लेख गरेको छ। ‘सं‌क्रमित व्यक्ति अरु पनि हुन्सक्छन्, तर पुष्टि हुने ‘पेसेन्ट जीरो’ गुइजियान नै हुन्,’ चिनियाँ अधिकारीलाई उद्धृत गर्दै द पेपरले लेखेको छ।

चीनको उहानमा त्यसपछि बल्ल मानिसहरुलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको थियो। अमेरिकी मिडियाले भने डिसेम्बरमै कम्तिमा २५० जनामा कोरोना भाइरसको संक्रमण रहेको उल्लेख गरेका छन्। जसको चिनियाँ अधिकारीहरुल‍े अस्वीकार गर्दै आएका छन्।