माओवादी सशस्त्र द्वन्द्व र पत्रकारितामा आफ्नो भोगाईको ‘अंश’ लिएर आए पत्रकार उजिर मगर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

माओवादी सशस्त्र द्वन्द्व र पत्रकारितामा आफ्नो भोगाईको ‘अंश’ लिएर आए पत्रकार उजिर मगर



हिमाल पोस्ट /काठमाडौँ ,असार ६ 

नेपाल पत्रकार महासंघका महासचिव समेत रहेका पत्रकार उजिर मगरद्वारा लिखित ‘अंश’ मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा लोकार्पण गरिएको छ । ‘पत्रकार मगरले माओवादी सशस्त्र द्वन्द्व र पत्रकारितामा आफूले भोगेका भोगाइलाई पुस्तकमा समेटेका छन । पुस्तकमा दरबार–माओवादी भेटघाट, राजा ज्ञानेन्द्रप्रति माओवादीको नरम नीति, गोरखा जेल ब्रेकको झुटो रिपोर्टिङ, गिरिजाप्रसाद कोइराला सरकार किन ढल्यो, कृष्ण सेन दोस्रोपटक किन पक्राउ परे, महरा पटकपटक मारिए, कृष्णभिर आक्रमणको सिडी, दीपेन्द्रको सगरमाथा, लेख्न नसकिएको समाचार, बाह्रबुँदे सहमति र बढ्दो माओवादी गतिविधि लगायतका बिषयवस्तुलाई समावेश गरिएको छ ।

लोकार्पण समारोहमा अध्यक्ष दाहालले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन पत्रकारको ठूलो भूमिका रहेको बताए । उनले भने–“मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर गणतन्त्र ल्याउन नेपाली पत्रकारिताले ठूलो भूमिका निर्वाह गरेकोे छ ।” अध्यक्ष प्रचण्डले पत्रकार सुधीर शर्माद्वारा लिखित ‘प्रयोगशाला’ र प्रशान्त झाद्वारा लिखित ‘गणतन्त्र’ राजनीतिक विश्लेषणात्मक पुस्तक भए पनि मगरद्वारा लिखित ‘अंश’ राजनीतिक र पत्रकारिताको विवरणात्मक पुस्तक भएको धारणा व्यक्त गरे । आफू एक्लैले जनयुद्धको तयारी गर्ने भए २०४४ सालबाटै सुरु गर्न खोजेको उल्लेख गर्दै उनले २०४६ सालको राजनीतिक परिवर्तनका कारण जनयुद्धमा ढिलाइ भएको बताए । अध्यक्ष प्रचण्डले “जनयुद्धलाई निरन्तरता दिँदा धेरै जनता मर्ने र राज्यलाई आर्थिक क्षेत्रमा समेत ठूलो घाटा लाग्ने भएकाले आफूहरु शान्ति प्रक्रियामा आएका हौँ” भन्दै जनयुद्धको सकारात्मक तथा नकारात्मक पक्षलाई केलाउन, यसलाई राम्रोसँग बुझ्न र यसका बारेमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कोणबाट हेर्न जरुरी रहेको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जनयुद्धलाई समेटेर धेरै पुस्तक लेखिए पनि मगरद्वारा लिखित पुस्तक सरल, सहज र पठनीय भएको बताए । पत्रकार नारायण वाग्ले, युवराज घिमिरे, गुणराज लुइँटेल लगायतले मगरले आफ्नै मिहेनतमा लेखेको यो पुस्तकले सशस्त्र द्वन्द्वको घटनालाई यथार्थ चित्रण गरेको बताउँदै आगामी दिनमा पनि पत्रकार मगरलाई नयाँ पुस्तक लेख्न आग्रह गरे ।