कांग्रेस केन्द्रीय सदस्य चौधरीले किन दिए राजिनामा ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कांग्रेस केन्द्रीय सदस्य चौधरीले किन दिए राजिनामा ?



काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको केन्द्रीय अनुशासन समितिबाट राजीनामा दिएका छन् ।

केन्द्रीय सदस्य चौधरी सिटौला निकट मानिन्छन् । चौधरी सिटौला समूहबाटै अनुशासन समिति सदस्यमा मनोनित भएका थिए ।

पार्टीमा अनुशासनहीन प्रवृत्ति बढ्दै गएको भन्दै उनले नेता कृष्णप्रसाद सिटौलासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामाका बारेमा उनले सार्वजनिक रूपमा केही नखुलाए पनि उनी निकट स्रोतले राजीनामा नेता सिटौलालाई बुझाइएको पुष्टि गरेको छ । स्रोतका अनुसार नेता चौधरीले होली पर्वअघि नै सिटौलालाई राजीनामा पत्र बुझाएका हुन् ।

यद्यपि, नेता सिटौलाको सचिवालयले भने चौधरीको राजीनामा पत्रका बारेमा पुष्टि गरेको छैन । सिटौला समक्ष बुझाइएको राजीनामा पत्र पार्टी सभापति शेरबहादुर देउवालाई भने बुझाइएको छैन ।

देउवाले गत चैत ४ गते भीष्मराज आङदम्बेको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति गठन गरेका थिए । समितिमा केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, धनराज गुरुङ र चौधरी सदस्य थिए ।