उमेर हद नलाग्ने गरी अखिल क्रान्तिकारीको विधान पारित - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

उमेर हद नलाग्ने गरी अखिल क्रान्तिकारीको विधान पारित



१० भदौ, काठमाडौँ ।

कीर्तिपुरमा जारी अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलनको बन्दसत्रले राजनीतिक, विधान प्रतिवेदन पारित गरेको छ ।

तेस्रो दिनको बन्द सत्रमा विभिन्न २१ वटा समूहका टोली नेताले राखेका सुझाव र धारणाको जवाफ अध्यक्ष न्यौपानेले दिएपछि हलले सर्वसम्मतिले प्रतिवेदनहरु पारित गरेको हो ।

यसलगत्तै निर्वाचन समितिले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको छ । शनिवार मतदाता नामावली प्रकाशित हुने र आइतबार निर्वाचन हुने निर्वाचन समिति संयोजक रमेश मल्लले जानकारी दिए । निर्वाचनबाट नेतृत्व चयन गर्न लागिएको अखिल क्रान्तिकारीको इतिहासमै पहिलोपटक हो ।

निर्वाचनमा कुल २ हजार ३४ मतदाता छन् । यी मतदाताले संशोधित विधान अनुसार ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने छन् ।
समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा उमेर हद लागू गर्नुपर्ने चर्को बहस भए पनि अन्ततः तत्काल उमेरहद नलगाउने निर्णय भएको छ ।

आगामी एक वर्षभित्र विधान सम्मेलन गर्ने र उमेरहद लगायत समग्र सांगठनिक संरचनाबारे छलफल गरी टुंगो लगाउने निवर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

बन्दसत्रमा सहभागीहरुले स्ववियु चुनावमा अखिल क्रान्तिकारी कै एजेण्डाअनुसार २८ वर्षे उमेर हद लागू भएको र अब सङ्गठनभित्र पनि उमेर हद लागू गर्नुपर्ने आवाज उठाएका थिए । उनीहरूले ३५ वर्ष नाघेकाहरु सङ्गठनको नेतृत्वमा हुन नहुने प्रस्ताव गरेका थिए । यदि उमेर हद लगाइएको भए हाल अध्यक्षमा दाबी गर्दै आएकाहरु सबै बाहिरिन्थे ।

अध्यक्ष पदमा अनिल शर्मा, रञ्जित तामाङ, रामचन्द्र अधिकारी, मदन अर्याल, सुरेन्द्र बस्नेत, बीरेन्द्र बस्नेत र पञ्चा सिंह दाबेदार छन् ।

समाजवादी शिक्षा नयाँ कार्यदिशा

अखिल क्रान्तिकारीले समाजवादी शिक्षा प्राप्तिलाई नयाँ कार्यदिशा बनाएको छ । सम्मेलनको बन्दसत्रबाट पारित राजनीतिक प्रतिवेदनमा जनवादी शिक्षाको चरण पार गरिसकेको भन्दै अब समाजवादी शिक्षा प्राप्तिलाई नयाँ कार्यदिशा बनाउने उल्लेख छ ।

अखिल क्रान्तिकारीले स्थापनाकालदेखि नै जनवादी शिक्षालाई मुख्य लक्ष्य बनाएको थियो ।