एमाले बैठकको रोचक पाटो: ओलीले गम्भीर प्रश्न उठाएपछि बैठकबाटै भागे महासेठ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

एमाले बैठकको रोचक पाटो: ओलीले गम्भीर प्रश्न उठाएपछि बैठकबाटै भागे महासेठ



काठमाडौं । शुक्रबारदेखि च्यासलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीसमूहमै विभाजन देखिएको छ । बैठकमा पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठले टोली नेतालाई नै बोल्न रोकेपछि तनावको अवस्था बनेको बताइएको छ । महासेठकै सहमतिमा बनाइएका टोली नेता रामचन्द्र मण्डललाई बोल्न रोकेपछि तनाव देखिएको हो ।

प्रदेश २ बाट समूह छलफलको निष्कर्ष सुनाउने टोली नेता चयन भएका मण्डललाई महासेठले बोल्न नदिएको विषयमा शीर्ष नेताहरूले नै आपत्ति जनाएको छन् । महासेठको उक्त हर्कतपछि अध्यक्ष केपी शर्मा ओलीले समेत रघुवीरको निर्णय निरङ्कुश र विवेकशून्य भएको बताएका छन् । नेता महासेठ अध्यक्ष ओलीका अत्यन्त निकट मानिन्छन ।

मण्डललाई महासेठले बोल्न नदिइएको विषय गम्भीर रुपमा लिइने नेतृत्वले नै बताएका छन् । अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल तथा उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले रघुवीरलाई सचेत गराउने बताएका छन् ।

समूहगत छलफलमा प्रदेश २ का केन्द्रीय सदस्यहरुले मण्डललाई टोली नेता र निर्मला देवकोटालाई उपनेता बनाएका थिए । त्यस्तै सरोज यादव र बद्री मैनालीलाई बहस नोटका जिम्मा दिइएको थियो ।

बैठकको सुरुवातमा प्रदेश अध्यक्ष ज्वालाकुमारी शाहलाई टोली नेता बनाउने कुरा उठे पनि महासेठले नै धनुषा इन्चार्ज रामचन्द्र मण्डललाई बनाउन सुझाव दिएका थिए । ज्वाला र रामचन्द्र दुवैजना माओवादीबाट नेकपा एकता प्रक्रियासँगै एमाले भएका हुन् । समूहगत छलफलको टिपोट सकिएर शनिवार निर्णय सुनाउने क्रममा अन्तिममा रघुवीरले के के बन्यो खोइ भन्दै टिपोट मागेर हेरेपछि कुरा बिग्रिएको थियो ।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा शुरुकै पहिलो बुँदामै यो पार्टी नेकपा एकताको निरन्तरता हो भनेर लेखेकोमा धन्यवाद लेखिएको र अब १० बुँदे कार्यन्वयनसँगै जेठ २ को एमालेका संरचनाहरु फर्किदा नेकपा एकताका बेला तत्कालीन माओवादीका जिम्मेवारी पनि यथावत हुनुपर्छ । भनेर लेखिएको थियो । उक्त बुँदा नै महासेठलाई मन नपरेको बताइएको छ ।

उनले लेखेको उक्त बुँदा अनुसार हुनेहो भने महासेठको प्रदेश इन्चार्ज पद नरहने भएपछि उनले त्यो काट्न लगाएका थिए । काट्न कसैले नमानेपछि विवाद सुरू भएको थियो । त्यसपछि फायर भएका महासेठले तपाई चुप लाग्नुस्, यो विषयमा नाबोल्नुहोला भन्दै झपारेका थिए । महासेठले झपारेपछी मण्डलले ठीक छ त्यसो भए म बोल्दिन भनेका थिए ।

त्यसपछि निर्णय सुनाउनका लागि महासेठले अन्य नेताहरूको खोजी गरेका थिए । महासेठले सरोज यादव, टेकवहादुर बलम्पाकी लगायतलाई बोल्न भने । तर नेतालाई अपमान गरिएको भन्दै कोही बोल्न मानेका थिएनन् । अन्तिममा बोल्ने समय मागेर रामचन्द्र मण्डल उठेर बोल्न थाले । उनले आफूलाई टोली नेता भएर पनि बोल्न नदिइएको भन्दै यस्तो भयो भने पूर्व माओवादीको संरक्षण कसले गर्ने ? भन्ने भाबुक प्रश्न गरे ।

उनले पार्टी अध्यक्षले दस्तावेजमै नेकपा एकता प्रक्रियाको निरन्तरता भनेको भन्दै पूर्व माओवादीलाई कोटा नछुट्याउने हो भने महाधिवेशन प्रतिनिधि नै आउन नसकिने अवस्था रहेको बताएपछि सन्नाटा छाएको थियो ।

रामचन्द्र मण्डलको कुरा सुनेपछि गम्भीर बनेका अध्यक्ष ओलीले उनको कुरा बुझ्न खोज्दा महासेठ बैठक छाडेर भागिसकेका थिए । प्रदेश २ बाट एमाले स्थायी कमिटीमा रघुवीर महासेठ र सत्यनारायण मण्डल छन् । तर दुवै नेताको शैली ठीक नभएको भन्दै युवा केन्द्रीय सदस्यहरुले प्रदेश २ को सन्दर्भमा विचार गर्न र माथिल्लो तहबाट पदाधिकारीलाई नै इन्चार्ज बनाउन सुझाव दिएका छन् ।