काँशीराम गुरुङ- सिएनआईको नाममा अर्को ठगी धन्दा, साढे ३ अर्ब खोई ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काँशीराम गुरुङ- सिएनआईको नाममा अर्को ठगी धन्दा, साढे ३ अर्ब खोई ?



करिब ३ लाख व्यक्तिलाई ठगी गरी अरबौँ रकम कुम्ल्याएका युनिटी प्रकरणका संचालक काँशीराम गुरुङ उर्फ प्रसाद गुरुङले उस्तै खाले उही प्रकृतिको ठगी धन्दा सुरू गरेका छन् । करिब साढे ३ अर्ब कुम्ल्याएर लाखौँ व्यक्तिलाई ठगी गरी हजारौँलाई घरबारविहिन बनाएका उनले डाइरेक्ट सेलिङ्गको आडमा अर्को कम्पनि खडा गरी रकम उठाइरहेको फेला परेको छ ।

केयर नेसन इन्टर्नेशनल (सीएनआई)को नाममा उनले फेरि पैसा उठाउन सुरू गरेको तथ्य हिमालपोस्टलाई प्राप्त भएपछि हामीले यसबारे बिस्तृत अनुसन्धान गरेका थियौँ । यस अध्ययनबाट नयाँ नयाँ तथ्य र रोचक घटनाक्रमहरू फेला परेका छन् ।

काँशीले युनिटी प्रकरणमा जोडिएका केहि विवादित पात्र र केही जग्गा ब्यापारीलाई लिएर अर्को कम्पनि संचालन गरेका रहेछन् । आफ्नो नाम युनिटीसँग जोडिने भएपछि श्रीमतीको नाममा कम्पनि खोलेर पैसा उठाउन सुरू गरेको फेला परेको छ । उनीहरूले अहिले देशभर कार्यक्रम गर्दै युनिटीकै शैलीमा सपना देखाउने र पैसा उठाउने काम गरिरहेका छन् ।

तत्कालिन युनिटी लाइफ र त्यसका अध्यक्ष रहेका गुरुङविरुद्ध अहिले पनि विभिन्न अदालतमा मुद्दा बाँकी छन् । त्यतिबेलाका केहि मुद्दा फैसला भैसकेका छन् भने केहि बाँकी छन् । यसरी लाखौँ व्यक्तिको पैसा फिर्ता गर्ने दायित्त्व छोडेर फेरि अर्को कम्पनीमार्फत काँशीले ठगी गरिरहेको बेला युनिटी काण्डमा ठगिएका र गाउँ फर्किन नसकेका केही व्यक्ति हाम्रो सम्पर्कमा आएका छन् । गुरुङले अहिले संचालन गरेको कम्पनी उनको श्रीमतीको नाममा दर्ता रहेको पाइएको छ । अहिलेको कम्पनीमा पनि काँशी नै अध्यक्ष बनेका छन् भने नेटवर्क मार्केटिङमै डामिएका र जेल सजाय भैसकेका कतिपय व्यक्तिलाई उनले टिममा राखेको पाइयो ।

नेपाल सरकारबाट इजाजत पत्र लिएको भन्दै उनले डाइरेक्ट सेलको नाममा नेटवर्क ब्यापार गरिरहेका छन् । सरकारले डाइरेक्ट सेलिङ्गका लागि ऐन बनाएर वाणिज्य विभागको निगरानीमा काम गर्ने कानुन बनाएको भएपनि नेटवर्क मार्केटिङको नेपालमा कानुन छैन । यसरी गैरकानुनी रूपमा डाइरेक्ट सेलिङ्गको प्रमाणपत्र देखाएर काँशीको समूहले नेटवर्किङको धन्दा गरिरहेको हामीले फेला पारेका छौँ ।

त्यसमाथि संसारभर प्रतिबन्ध लगाइएको र विवादित बनेको पिरामिड शैलीमा दाँया बाँया गोला बनाएर म्याच गरेपछि कमिसन आउने सिस्टम चलाएको पनि खुलेको छ । हामीलाई प्राप्त भएको प्रमाणमा उनीहरूले बठ्याई गरेर प्याकेजमा सामान किन्न लगाउने गरेको समेत भेटिएको छ । जब की डाइरेक्ट सेलिङ्गको ऐन अनुसार कुनैपनि कम्पनीले सामानको प्याकेज बनाएर ग्राहकलाई किन्न बाध्य पार्न नपाइने उल्लेख छ । नेटवर्क मार्केटिङको नाममा लाखौँ जनता ठगिएको पत्ता लागेपछि यस्ता खालका कम्पनि र प्लानमा सरकारले प्रतिबन्ध नै लगाएको थियो । तर गुरुङले संचालन गरेको सिएनआईमा उनीहरूले डाइरेक्ट सेलिङ्गको नाममा कसरी उपभोक्तालाई बेवकुफ बनाइरहेका छन् भन्ने स्पष्ट देखिन्छ ।

दाँया र बाँया म्याच गरेर कमिसन (पिरामिड)

यस्तो छ सिएनआईको पिरामिड ‘स्टकचर'(व्यक्तिगत गोपनियताको लागि नाम र विवरण रातो रङ्गले ढाकिएको छ ।)

इजाजत एकातिर, ठगी अर्कैतिर

त्यसमाथि ठेगाना कलंकी राखेर दर्ता गरिएको कम्पनीको कार्यालय भने कोटेश्वरमा राखिएको छ भने वेबसाइटमा बालकुमारी लेखिएको छ । उपभोक्ता ऐन र डाइरेक्ट सेलिङ्गको कानुन नै आकर्षित हुनेगरी संचालन गरिएको केयर नेसनको धन्दा फस्टाउने नाममा उनीहरूले देशब्यापी कार्यालय खोलिएको दाबी गर्छन ।

वाणिज्य विभागबाट उनीहरूले डाइरेक्ट सेलिङ्गको लागि लिइएको इजाजतमा ९ सय ९९ जना सम्म विक्रेता बनाउन सकिने इजाजत लिएको उनीहरूले देखाउने गरेको इजाजत पत्रमा देखिन्छ तर कम्पनीका एक प्रतिनिधिका अनुसार उनीहरूले देशभर ३० हजारभन्दा बढी विक्रेता बनाएको दाबी गर्छन ।

डाइरेक्ट सेलिङ्ग गर्ने इजाजत पत्र, जसमा ९ सय ९९ जना वितरक बनाउन पाउने भनिएको छ

डाइरेक्ट सेलिङ्ग गर्ने इजाजत पत्र, जसमा ९ सय ९९ जना वितरक बनाउन पाउने भनिएको छ ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ अनुसार लिइएको इजाजतको समेत उनीहरूले दुरूपयोग गरेको भेटिन्छ । अर्कातिर ऐन अनुसार ग्राहकलाई प्याकेजमा सामान बेच्न नपाइने व्यवस्था छ । तर उनीहरूले वितरक बनाउने नाममा ठूला ठूला प्याकेज बनाएर सामान बेचिरहेका छन् । उनीहरूले बनाएको र बेचिरहेको प्याकेज अनुसार जोनल बिक्रेता बन्नका लागि १ हजार पीभी बराबरको सामान किन्नुपर्ने हुन्छ । कम्पनीका प्रतिनिधिका अनुसार १ हजार पीभीमा लगभग २५ हजार बराबरको समान किन्नुपर्छ । त्यस्तै रिजनल विक्रेताका लागि लगभग ६० हजार बराबर र नेशनल विक्रेता बन्नका लागि १ लाख २० हजार बराबरको सामानको प्याकेज खरिद गर्नुपर्ने हुन्छ । वाणिज्य विभागका एक अधिकारीका अनुसार यो नै सबैभन्दा ठूलो अपराध र गैरकानुनी काम हो ।

ऐनमा भएको व्यवस्था अनुसार, कुनैपनि बहानामा प्याकेजमा सामान बेच्न र बेच्न लगाए त्यो अपराध ठहरिन्छ ।

दर्ता भएको कम्पनी

यस्तो छ प्रावधान:-

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४

यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम तथा  इजाजतपत्रमा लेखिएका शर्तका अतिरिक्त इजाजतपत्रवालाले देहाय बमोजिमका शर्त पालना गर्नु पर्नेछ :– (क) (ख) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य गर्दा असीमित दायित्व सृजना गर्ने खालको प्याकेज बनाई वस्तुको बिक्री गर्न नहुने,  निश्चित परिमाणको वस्तु खरिद गर्नु पर्ने र त्यस्तो वस्तु खरिद नगरे इजाजतपत्रवालाको व्यावसायिक योजना अनुसार बोनस वा कमिशन प्राप्त नगर्ने खालको बन्धनकारी व्यवस्था राख्न नहुने,  ठ (ग) उपभोक्तालाई आफ्नो इच्छा अनुसारको छुट्टाछुट्टै सामान खरिद गर्न दिनु पर्ने,

यो व्यवस्था अनुसार केयर नेसनले सिधै राज्यलाई चुनौती दिएर ठगी गरिरहेको देखिन्छ । यसरी बाध्यकारी संरचना बनाएर युनिटी शैलीमा, उस्तै ठगी गरिरहेको प्रमाणित हुन्छ ।

इजाजत पत्रको अवधी दुई वर्ष मात्र

यसमाथि उनीहरूले आफ्ना ग्राहक भैसकेका व्यक्तिलाई देखाउने प्रमाणपत्रमा २०७७ सालमा इजाजत लिएको देखिन्छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ अनुसार प्रत्यक दुई वर्षमा इजाजत नवीकरण गराउनुपर्ने बाध्यकारी नियम छ । त्यसमाथि इजाजत सकिनुभन्दा ६० दिन अगाडी नै विभागलाई जानकारी गराउनुपर्ने नियम छ ।

उनीहरूले देखाउने इजाजतपत्रमा ९ सय ९९ जना सम्म विक्रेता बनाउने नियम छ । तर कम्पनिले भने ३० हजात बढी बिक्रेता बनाएको दाबी गर्छ । हामीलाई प्राप्त भएको प्रमाणमा पनि हजारौँ विक्रेता बनाएको देखिन्छ । केहि हजार जनाको त हामीसँग डाटा नै प्राप्त बहेको छ ।

यसरी दशको ऐन कानुन नै कुन चराको नाम हो भन्ने जसरी दिनदहाडै ठगी गरिरहेका गुरुङलाई सम्बन्धित निकायले भने एक्सन लिएको देखिंदैन ।

सामानको अचाक्ली मूल्य

त्यसमाथि गुरुङले संचालन गरेको सिएनआईले बस्तुको अचाक्ली मूल्य राखेर उपभोक्ता थागीरहेको समेत फेला परेको छ । सिएनआईले अल्कालाइन वाटर फिल्टर भनेर प्रचार गर्ने गरेको फिल्टर ४० हजारमा बिक्रि गर्ने गरेको छ । उनीहरूले बेचिरहेको फिल्टर उनीहरूकै वेबसाइटमा राखिएको विवरणअनुसार छुटसहित यो मुल्यमा बेचिरहेका छन् । तर यहि कम्पनिको यहि फिचर भएको फिल्टर भारतको प्रसिद्ध कम्पनि इन्डियामार्टमा भने ८ हजार ५ सय भारूमा पाईन्छ ।

१३ हजार ५ सयमा पाउने सामानको मूल्य ४० हजार

१३ हजार ५ सयमा पाउने सामानको मूल्य ४० हजार

यो मूल्य अनुसार नेपालमा यसको खुद्रा मूल्य १३ हजार पाँच सय हुन्छ । भारतबाट ल्याइएपनि यसमा भ्याट तिरेपनि ४० हजार मूल्य भनेको अचाक्ली नै हो । करिव ४ सय गुणा मूल्य बढाएर बेचेको तथ्य फेला परेको छ । यस्तै यो कम्पनीले बेच्ने एउटा घडीको मूल्य ६६ हजार पाँच सय राखिएको छ । कहिलै ब्राण्ड नसुनिएको यस्तो घडीको यो मूल्य पनि अचाक्ली नै हो । उनीहरूका अनुसार यो घडी चाइनाको एउटा कम्पनीलाई अर्डर गरेर बनाउने गर्छन ।

हामीले यो प्रकरणबारे वाणिज्य विभागका वस्तुको प्रत्यक्ष बिक्री हेर्ने निर्देशक गणेश बहादुर अधिकारीसँग कुरा गर्दा उनले यस्ता खालका धन्दा गर्नेहरूलाई शक्त कारबाही हुने बताए । “हामीले निश्चित मापदण्ड पुरा गरेर मात्रै काम गर्न इजाजत दिन्छौँ, यदि वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ मा भएको प्रावधानविपरित भए उनीहरू कारबाहीको दायरामा आउँछन्, “ उनले भने ।

यसबारे बुझ्न र भनाई लिन कम्पनीका अध्यक्ष काँशी गुरुङलाई फोन गर्दा उनी सम्पर्कमा आएनन् ।

के छ ऐनमा ?

डाइरेक्ट सेलिङ्गको ऐन

काँशी र युनिटीसँग जोडिएका अन्य विषयबारे पनि हामीले थप फलोअप गरिरहेका छौँ, नयाँ र रोचक तथ्यका साथ् अर्को भाग पनि प्रकाशन हुनेछ ।