विश्वका १९५ देशका शीर्ष नेताहरु न्यूयोर्कमा भेला,प्रधानमन्त्री प्रचण्डले समेत सम्बोधन गर्ने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विश्वका १९५ देशका शीर्ष नेताहरु न्यूयोर्कमा भेला,प्रधानमन्त्री प्रचण्डले समेत सम्बोधन गर्ने



काठमाडौं, असोज २ । विश्वका १९५ देशका शीर्ष नेताहरु न्यूयोर्कमा भेला हुँदैछन् । संयुक्त राष्ट्र संघको ७१ औं महासभामा भाग लिन नेताहरु न्यूयोर्कमा भेला हुन गइरहेका हुन ।

सेप्टेम्बर १९ देखि २६ सम्म चल्ने यो सभामा संयुक्त राष्ट्र संघका महासचिव बान कि मून र अमेरिकी राष्ट्रपति बाराक ओबामा समेत सहभागी हुने छन् । यो दुबै नेताको अन्तिम सहभागिता हुने छ ।

महासभालाई नेपालका प्रधानमन्त्री प्रचण्डले समेत सम्बोधन गर्नेछन् । उनले सेप्टेम्बर २५ का दिन सयुक्त राष्ट्रसभामा सम्बोधन गर्नेछन् । प्रचण्डले यसअघि पनि सन् २००८ को महासभालाई पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति अोबामाबीच अाधा घण्टा वान टू वान वार्ता हुने बताइएको छ ।

महासभामा भाग लिन प्रचण्ड सोमबार (असोज ३ गते) अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

विश्वका नेताहरुले सिरिया युद्ध, जलवायु परिवर्तन, आतंकवाद, शरणार्थी समस्या, कोरियाली प्रायद्विप जस्ता तनावपूर्ण विषयमा उच्चस्तरीय बैठकमा कुरा गर्ने भएका छन् ।

महासभाले संयुक्त राजनीतिक घोषणा पारित गर्ने छ । यो वर्ष संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय अप्रवासनमा कार्यरत संस्था आइओएम जोडिने भएको छ ।

तनावपूर्ण विश्व परिस्थितिका बीच हुन गइरहेको महासभामा केही महत्वपूर्ण विषयमा छलफल हुने बताइन्छ । खासगरी उत्तर कोरियाले खेलिरहेको भूमिका र अरब क्षेत्रमा

आतंकवादको विषयले प्रधानता पाउने देखिन्छ । सिरियामा अहिले युद्धबिराम भएपनि मानवीय संहार रोकिएको छैन । यसैगरी यूरोप र अमेरिकामा समेत इस्लामिक आतंकवादको बिस्तार भइरहेको छ । यो विषयमा रुस, चीन, अमेरिका, बेलायत र यूरोपियन यूनियनलगायतका देशहरुबीच द्विपक्षीय बैठकहरु समेत हुने बताइन्छ ।
नेपालका तर्फबाट प्रधानमन्त्रीले विश्व शान्तिका पक्षमा नेपालले खेलेको भूमिकाका बारेमा कुरा गर्ने बताइन्छ ।