प्रधानमन्त्रीकै अगाडी भारतीय पत्रकारको 'उपरखुट्टी' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीकै अगाडी भारतीय पत्रकारको ‘उपरखुट्टी’



काठमाडौं- देशका नागरिक र पार्टीका नेता, कार्यकर्ताले अनुनय बिनय गर्दा पनि भेट्न नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय विवादित टेलिभिजन जी न्युजका विवादित पत्रकार सुधीर चौधरीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेरै अन्तर्वार्ता लिएका छन् ।

रोचक त के छ भने सार्वजनिक भएको फोटोमा प्रधानमन्त्री ओलीसंग सुधीरले चौधरीले ‘उपरखुट्टी’ लगाएका छन् । मर्यादा र साधारण अर्थले पनि प्रधानमन्त्रीको अगाडी ‘उपरखुट्टी’ लगाउने चलन छैन । उक्त फोटोमा प्रधानमन्त्री स्वयं ‘उपरखुट्टी’ लगाएका छैनन् ।

देशका पत्रकार र संचारमाध्यमलाई गाली गरेर नथाक्ने प्रधानमन्त्री र उनको सचिवालयले सामान्य मर्यादा थाहा नभएका यस्ता व्यक्तिहरूलाई पटक पटक स्थान दिने गरेका छन् । त्यसैमाथि जी न्युजका सुधिर चौधरी प्रधानमन्त्री ओलीलाई खुइलाउने अभियान चलाएका व्यक्ति हुन् ।

सुधिरकै च्यानलबाट प्रधानमन्त्री ओलीलाई जोडेर आपत्तिजनक समाचारहरू पटक-पटक प्रसारण भएका छन् । यतिसम्म कि चिनिया राजदूत होउ यान्छीसंग प्रधानमन्त्री ओलीले चक्कर चलाएको भन्दै भ्रामक सामाग्री समेत उनकै च्यानलले प्रसारण गरेको थियो ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो । जुन कार्यक्रम सुधीरले नै सञ्चालन गरेका थिए ।

त्यस्तै सुधीर चौधरीले पनि नेपालबारे विवादित ट्वीट गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए ।

उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’

प्रधानमन्त्री ओलीको सचिवालयले सावधानी नअपनाउँदा यस्ता घटना बारम्बार घटेका छन् । प्रधानमन्त्रीको कार्यालयमा अनुमतिबिना फोटो खिच्न नपाउने नियम छ । कम्तिमा पनि फोटो खिच्दा ‘उपरखुट्टी’ लगाउन नदिएको भए फोटो असभ्य देखिने थिएन । कम्तिमा भारतीयले नेपालीलाई हेप्ने अर्को बहाना पाउने थिएनन ।