उपत्यकाका सात क्लिनिकमा तालाबन्दी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उपत्यकाका सात क्लिनिकमा तालाबन्दी



हिमाल पोस्ट / काठमाडौँ । स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले राजधानीमा थप सात वटा क्लिनिकमा तालाबन्दी गरेको छ ।

दर्ता नै नभई सञ्चालन भइरहेका र दर्ता भएर पनि नवीकरण नभएका क्लिनिकलाई अनुगमन टोलीले तालाबन्दी गरिदिएको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा काठमाडाँै र ललितपुरमा खटिएको अनुगमन टोलीले यसअघि दुई दिन गरेको अनुगमनका क्रममा अन्य १३ वटामा तालाबन्दी गरिसकेको छ ।

व्यवस्थापन महाशाखाका उप–स्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वमा रहेको काठमाडाँैमा खटिएको टोलीले आजमात्रै छ वटामा तालाबन्दी गरिदिएको छ भने दुई वटालाई चौबिस घन्टे पुर्जी दिएको छ । चौबिस घन्टाभित्रमा आवश्यक प्रक्रिया पूरा नभएमा तिनीहरुमा पनि तालाबन्दी गरिने डा पन्थीले जानकारी दिनुभयो ।

तालाबन्दी हुनेमा काठमाडौँ बालाजुका नेपाल जनस्वास्थ्य केन्द्र, नागार्जुन डेन्टल क्लिनिक, अल्का डेन्टल होम, ओशो आशिक डेन्टल क्लिनिक, ओम प्राकृतिक डेन्टल क्लिनिक र वाइपास पोलिक्लिनिक रहेका छन् ।

त्यसैगरी बालाजुकै नोवेल डेन्टल होम र सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरलाई चौबिसघन्टे पुर्जी दिएको डा पन्थीले बताउनुभयो । अनुगमन गरेकामध्ये अधिकांश डेन्टल क्लिनिक अवैध तारिकाले सञ्चालन भइरहेको पाइएको छ ।