रेणु यादवको कारणले तनावमा उपेन्द्र यादव - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रेणु यादवको कारणले तनावमा उपेन्द्र यादव



काठमाडौं- भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू बाहिर आउन थालेको छ।

‘गौर नरसंहार’ दोहोर्‍याउने मन्त्री यादवको अभिव्यक्तिको कांग्रेस, एमालेलगायतका दलहरूले आलोचना गरिरहेकै बेला जसपा नेताहरू पनि प्रतिवादमा उत्रिएका हुन्।
गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै पार्टीकै नेताहरूले आलोचना गर्न थालेपछि मन्त्री यादवलाई पदमुक्त गर्न अध्यक्ष उपेन्द्र यादवमाथि दबाब बढेको छ।

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षीय नेताहरू मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पार्टीले बचाउ गर्न नसक्ने आशय व्यक्त गरेका छन्।

यद्यपि पार्टीका कतिपय नेताहरू भने मन्त्री यादवलाई कारबाही गर्नेबारे पार्टीभित्र कुनै छलफल नभएको बताएका छन्। बरू जसपाका कतिपय नेताहरू मन्त्री यादवको बचाउमा उत्रिएका छन्।

मधेस प्रदेसका कृषि राज्यमन्त्री योगेन्द्रराय यादवले शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन नै गरेर भौतिकमन्त्री यादवको बचाउ गरेका थिए।

अध्यक्ष यादव र भट्टराईबीच पछिल्लो समय टकराव बढिरहेको बेला मन्त्री यादवको पछिल्लो अभिव्यक्तिले जसपाभित्र थप अन्तरविरोध बढ्ने संकेत देखिएको छ।

भट्टराईले त्रासदीपूर्ण गौर नरसंहारलाई आदर्शीकरण नगर्न आग्रह गरेका छन्। ‘जानेर/नजानेर कसैले पनि त्रासदीपूर्ण गौर नरसंहारको आदर्शीकरण नगरौं,’ भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

मन्त्री रेणु यादवको नाम नलिइ उनले पछिल्लो घटनाक्रमलाई जसपासँग नजोड्न आग्रह पनि गरेका छन्।

‘मधेसीकाविरूद्ध मधेसी लडाउने र माओवादी जनयुद्ध र मधेस जनविद्रोहलाई एकअर्काका पुरक बनाउनु सट्टा एकअर्काविरूद्ध भड्काएर क्रान्तिकारी शक्ति कमजोर पार्ने सो अप्रिय अध्यायको अन्त्य हुनैपर्छ। जसपालाई त्योसँग कतै नजोडौं,’ उनले भनेका छन्।

त्यसैगर सपाका कार्यकारिणी सदस्य नवराज सुवेदीले जसपा व्यक्तिहत्या, धम्कीमा विश्वास गर्ने पार्टी नरहेको बताएका छन्। मन्त्री यादवले गौरमा दिएको अभिव्यक्तिबारे आफैं स्पष्ट नगरे पार्टीलाई क्षति पुग्ने उनले जिकिर गरेका छन्।

‘जसपा नेपाल व्यक्तिहत्या, धम्की आदिमा विश्वास गर्दैन। त्यो तरिकालाई खारेज गर्छ। माननीय रेणु यादवले माघ ५ गते रौतहटमा के बोल्नुभयो र किन त्यो विवादस्पद विषय बन्यो? उहाँ आफैंले त्यो विषय थप स्पष्ट गर्नु आवश्यक छ। अन्यथा त्यसले पार्टीलाई क्षति पुग्ने छ,’ सुवेदीले भनेका छन्।