डब्लुएचओ भन्छ: अमेरिका कोरोनाको दोस्रो ‘इपिसेन्टर’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डब्लुएचओ भन्छ: अमेरिका कोरोनाको दोस्रो ‘इपिसेन्टर’



काठमाडौं- विश्व स्वास्थ्य संगठनले संयुक्त राज्य अमेरिका कोरोना भाइरस संक्रमणको अर्को उद्गमस्थल बन्न सक्ने सम्भावना रहेको बताएको छ।

विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतले २४ घण्टा नै देशैभर लकडाउनको घोषणा गरेपछि विश्वस्वास्थ्य संगठनले अमेरिकालाई लिएर मंगलबार यस्तो पूर्वानुमान गरेको हो।

मार्च महिनाबाट जापानदेखि अमेरिकासम्मको व्यापारिक क्रियाकलापमा भारी गिरावट आएका कारण भारतले बेलायत र अन्य देशहरूले जस्तै यो भाइरसको संक्रमणलाई फैलिन नदिन कदम चालेको छ।

अत्यधिक संक्रामक रहेको कोरोना भाइरसका कारण सबैजसो क्षेत्रहरू अहिले लकडाउनको अवस्थामा छन्। कतिपय क्षेत्रमा सुरक्षा फौज आफैं सडकमा उत्रिएर उपभोक्ता तथा कामदारहरूलाई घरभित्रै बस्न, सेवा तथा उत्पादन रोक्न निर्देशन दिइरहेका छन्।

‘स्वास्थ्य संकटले यतिबेला विश्वव्यापी मन्दीको रूप लिइरहेको छ। र, यसभित्र संक्रमणलाई रोक्ने र अर्थतन्त्रलाई बिग्रनबाट जोगाउने भन्ने कुरामा स्पष्ट तनाव देखिएको छ,’ इटालीकाे मिलानस्थित युनिक्रेडिट बैंकका अर्थशास्त्री एडोओर्डो क्याम्पानेल्ला बताउँछन्।

अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ लाख कटिसकेको छ भने १ सय ९० भन्दा बढी देशमा यो फैलिसकेको छ। रोयटर्सको तथ्यांक अनुसार मंगलबारसम्म १६ हजार ५ सय जनाको मृत्यु भइसकेको छ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गरेट ह्यारिस पछिल्लो समय संयुक्त राज्य अमेरिकामा संक्रमण बढेको बताउँछन्। पछिल्लो २४ घण्टालाई हेर्दा युरोप र संयुक्त राज्य अमेरिकामा ८५ प्रतिशतले नयाँ संक्रमितहरू देखिएका छन्, जसमा ४० प्रतिशत अमेरिकाको छ। यी ठाउँमा सोमबारसम्ममा कोरोनाको संक्रमण ४२ हजार जनामा देखिएको थियो, जसमा ५ सय ५९ जनाको मृत्यु भएको थियो।

संयुक्त राज्य अमेरिका कोरोना संक्रमणको अर्को इपिसेन्टर बन्ने सन्दर्भमा ह्यारिस भन्छन्, ‘नयाँ केसहरू थपिने कुरामा अहिले गतिशीलता देखिएको छ, जसले गर्दा यो सम्भावना देखिन्छ, स्थानीयले नै प्रतिस्पर्धा गरिरहेका छन्।’ केही अमेरिकी केन्द्रीय अधिकारीहरू पनि समन्वय गर्न इन्कार गरिरहेको उनी बताउँछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कठिनाइलाई स्विकार्दै ट्विट गरेका छन्, ‘मास्क र भेन्टिलेटरलाई लिएर विश्व बजारमा हाहाकार जस्तै स्थिति छ। हामी राज्यलाई विभिन्न उपकरणका लागि मद्दत गरिरहेका छौं, यद्यपि यो सजिलो छैन।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै २१ दिनसम्म देशव्यापी लकडाउनको घोषणा गरेका थिए। स्वास्थ्य विज्ञहरूले भारतमा लाखौंको संख्यामा मध्य मेसम्ममा कोरोना संक्रमित हुने जोखिम सुझाएका थिए।

जसका कारण भारत सरकारले हवाई तथा रेल मार्ग, व्यापार, विद्यालय लगायत बन्द गरेको छ। मोदीले मंगलबार भने, ‘कसैलाई पनि घरबाहिर निस्कन दिइने छैन। भाइरसको संक्रमणबाट बच्ने यही मात्र उपाय भएकाले जेसुकै भएपछि हामी घरैमा बस्नेछौं।’ अहिलेसम्म भारतमा ४ सय ८२ प्रमाणित ‘केस’ छन् भने नौ जनाको संक्रमणकै कारण मृत्यु भएको छ।