उतिबेलाको नयाँ साल « Himal Post | Online News Revolution
Logo

उतिबेलाको नयाँ साल



दीपक घिमिरे

हरेक बर्ष आउने नयाँ सालमा मलाई पुराना नयाँ सालको याद आउँछ । उबेला चैत महिनादेखि राजेश हमाल, भुवन केसी, करिश्मा मानन्धरलगायतका धेरै कलाकारहरुलाई किन्न हामी गिफ्ट पसलमा भीड लाग्दथ्यौं । अचम्मको कुरा त्यतिबेला शाहरुख खान, सलमान खानभन्दा हाम्रा नेपाली हिरो हिरोइन महंगा थिए । दुई रुप्पेमा सलमान, शाहरुख आउँथे भने पाँच रुप्पे तिरेसी राजेश भुवनलगायत नेपाली कलाकार आउँथे । किनेको कलाकारको पछाडि नयाँ सालको शुभकामना लेख्यो अनि मन मिल्ने दौतरीलाई पठायो । उसले पनि यसैगरी पठाउँथ्यो । यसरी शुरु हुन्थ्यो स्कूले जीवनमा नयाँ सालको उमंग ।

समय बदलिँदै गयो, हामी नेपालीलाई नेपाली कलाकारभन्दा हलिउड बलिउडका कलाकार मन पर्न थाले । नेपाली नयाँ सालभन्दा उतैको न्यू इयर मन पर्न थाल्यो अनि शुरु भयो ह्याप्पी न्यू इयरको मस्ती । नयाँ साल सेलाउँदै गयो । गिफ्ट पसलबाट राजेश हमालको फोटो किनेर पछाडि नेपालीमै नयाँ बर्षको शुभकामना लेखेर पठाउने जमाना उतिबेलै सकियो, जतिबेलादेखि सबैका हातमा मोबाइल प¥यो । साना–साना पोष्टकार्ड किनेर रातो डटपेनले लेख्दै पठाउने चलनलाई न्यू इयर र मोबाइलले खरलप्पै खायो । शुरु भयो म्यासेजको जमाना ।
हरेक खेल अनि दिन बालापनकै मन पराउने अधिकांश युवा पिढी अहिले न्यू इयरमा झुम्छ तर म झुम्न सक्दैन किनकी मलाई मेरै नयाँ साल मन पर्छ । मलाई फेरि तिनै दिनको याद आउँछ जतिबेला मन परेको साथीलाई पाँच रुप्पेको नेपाली कलाकारको पोष्टकार्ड अनि सामान्य साथीलाई हिन्दी फिल्मको हिरोको पोष्टकार्ड किनेर पठाइन्थ्यो । स्कूलभरी छुट्टै रौनकता छाउँथ्यो, पोष्टकार्डका आदान–प्रदान मज्जैले चल्थे । अनि बल्ल नयाँ सालको महत्व झन चुलिन्थ्यो । नयाँ साल साँच्चिकै नयाँ बन्थ्यो उतिबेला ।

समयसँगै दुनियाँ बदलियो । नयाँ साल मनाउनेहरु न्यू इयरमा रमाउन थालेपछि ती पोष्टकार्डहरु बिक्न थाले । पोष्टकार्ड बिक्ने ती पसल मोबाइल पसलमा बदलिए तर म बदलिन सकिनँ । मलाई फेरि तिनै राजेश हमाल, भुवन केसी अनि करिश्मा मानन्धरको पछाडि नयाँ सालको शुभकामना लेखेर पठाउने मन छ । किनकि नयाँ साल हाम्रो मौलिक परम्परा हो र न्यू इयर आयातित संस्कृति ।

गएको पुसमा एउटा साथीले फोनमा भन्यो– ‘नयाँ सालमा पोखरा घुम्न जाउँला है ?’ मैले उसलाई भने– ‘नयाँ साल आउन अझै तीन महिना बाँकी छ, किन हतार ?’ ऊ हाँस्यो अनि भन्यो– ‘भाक ! अहिले डिसेम्बर हो, जनवरी एक तारिखतिर जाने के ।’ मैले हाँस्दै भने– ‘मेरा लागि नयाँ साल बैशाख १ गते हो । जनवरी एक त न्यू इयर होला ।’ उसले जिस्काउँदै भन्यो– ‘जमाना काँ पुगिसक्यो त चै नयाँ र न्यू छुट्टाउँदै बस् ।’
कुनै पनि चाडपर्व सेलिब्रेट गर्नु भनेको मनले मानेर हो । रमाउनु भनेकै मन खुशी गराएर हो । मलाई बर्षमा दुई दिन नयाँ साल मनाउनु छैन । म आफ्नै तरिकाको मान्छे छु । एकातिर नेपाली संस्कृति लोप हुँदैछ भनेर रोइलो गर्ने, अर्कोतिर ह्याप्पी न्यू इयर भन्दै डिस्को धाउन सक्दिनँ । किनकि म अझै नेपाली परम्पराबाट खुशी छु । नेपाली संस्कृतिलाई कुरि–कुरी भन्दै, गिज्याउँदै आउने पश्चिमा संस्कृतिमा म कसरी नाचू ? कसरी रमाऊ ? मेरा बाउबाजेहरुले बैशाख १ गतेलाई नयाँ साल मान्दै आए । अब म जमाना बदलियो भन्दै बर्षमा दुई पटक कसरी नयाँ साल मनाऊ ?

जमाना फेरिएकै हो सायद । हिजो हिरो हिरोइनका फोटामा शुभकामना लेखेर पठाउने चलनलाई जमानाले लात हानेर म्यासेज र स्टाटसमा नयाँ साल सेलिब्रेट गर्ने जमाना आयो त्यो पनि बर्षमा दुई–दुई पटक । न्यू इयरमा ठमेल गएर डिस्को छिर्ने अनि बियर पिउने सपना देख्दै बस्ने सन्तोषलाई मैले सोधे– ‘तेरो नयाँ साल चै कति देशमा मनाउँछन् बे ? उनको न्यू इयर कुरेर बस्या’छस् ?’

ऊ केही बोल्दैन, कहिले बोल्दैन । हरेक बर्षको न्यू इयरमा ऊ कलेज खर्चको लागि बाले पठाएको पैसाबाट न्यू इयर मनाउँछ । नयाँ साल बैशाखमा पर्ने हुँदा त्यतिबेला ऊ कलेज बिदामा गाउँमै हुन्छ । सेलिब्रेट गर्दा चै मौलिकता, आफ्नो संस्कृति नचाहिने तर स्टाटसमा चै खुबै चाहिन्छ उसलाई राष्ट्रबाद । अस्ति फेसबुकमा लेख्या’थ्यो– ‘देशका लागि मर्न तयार छु, राष्ट्रियताको सवालमा झुक्दैन ।’

अरे बाफ रे हिम्मती सन्तोषे ! देशको रीति, संस्कृति, परम्परा, मौलिकता भुल्दै गएर पश्चिमा संस्कृतिमा रमाउँदै गए राष्ट्रियता कहाँ बच्छ ? नयाँ सालमा घरमै सुत्ने अनि न्यू इयरमा बिएरै मुत्ने भएर कसरी बच्छ राष्ट्रियता ? हो सम्मान गर्नुपर्छ सबै धर्म–संस्कृतिको तर आफ्नो संस्कृतिलाई भुल्दै गएर पराई धर्म–संस्कृतिमा रमाउनुको के अर्थ ? भन्ने बेला चै बालापन नै ठीक भन्ने तर रमाउने बेला डिस्को र डान्समा रमाउने ?

मलाई पनि रहर लाग्छ मेरो संस्कृतिमा कुनै विदेशी छमछमी नाचोस्, मेरो मौलिक परम्परामा कुनै विदेशी सेलिब्रेट गरोस् । तर एकाधबाहेक अहिलेसम्म त्यस्तो देखेको छैन, जसरी हामी उनीहरुको संस्कृतिमा रमाउँछौ । दशैँ–तिहारको शुभकामना दिन लजाउने जमाना आइसक्यो, बरु भ्यालेन्टाइन डेको शुभकामना पठाउँदा गर्वले छाती चौडा भएको महसुस हुन्छ । भाइटीकामा दिदी–बहिनीको निधार रित्तै भए बाल छैन तर राखी भन्दै जनै पूर्णिमामा कुदेर घर जान्छौं या दिदी–बहिनी बोलाउँछौ । के यही हो जमाना बदलिएको ?

गाउँमा क्रिश्चियन बनाउने जमात घुसे भन्दै कराउँछौं, गरिब दुःखीलाई धर्म परिवर्तन गर्न बिदेशीले उक्साए भन्दै रिसाउँछौ । तर हामी बुझ्नेहरु नै तिनैका संस्कृतिमा रमाउँछौ । तिनैका परम्परालाई सेलिब्रेट गर्छौ । र पनि भन्छौं– ‘देशले रगत मागे !!’ हो मलाई अराजक, संकीर्ण सोचको, पाखे भन्नेहरु थुप्रै छन् । तर मैले ती परम्पराको बिरोध गरेको छैन । केवल हामी हाम्रो संस्कृतिमा रमाउन सिकौ मात्र भन्दैछु । कसरी रमाउन सक्छु म न्यू इयरमा ? मेरो गाउँमा बस्नेहरु नयाँ साललाई कुर्दै बस्छन् अनि म कसरी शहरमा बस्ने भए भन्दैमा ठमेल पुगेर सेलिब्रेट गरु न्यू इयरको ? न्यू इयरलाई मेरा बाले कहिले सेलिब्रेट गरेनन्, आमालाई के भनेको थाहै छैन । अनि म दुई चार बर्ष शहर बसे भन्दैमा कसरी नाच्न सक्छु डिजे गानामा बियरको नशामा ?

मेरा लागि मेरो नयाँ साल आउँदैछ । मेरा लागि बैशाख १ गते आउँदैछ । जुन दिन म नयाँ सालको उमंगले नाच्दै, रमाउँदै घरमै बस्छु । उतिबेला जस्तो राजेश, भुवन अनि करिश्माका फोटा नभए पनि एउटा स्टाटस पोष्टिन्छु अनि सबैलाई शुभकामना बाँडछु मेरै नयाँ सालमा । म रमाउन सक्दिनँ जनवरी १ मा, किनभने त्यतिबेला न मेरा बा नाच्नेछन् न मेरी आमाले कुनै मीठो परिकार बनाएर न्यू इयरलाई स्वागत गर्नेछिन् ।

साँच्चै भन्ने हो भने म त्यस्ता संस्कारमा रमाउन सक्दैन जुन संस्कारमा मेरो समाज रमाउन सक्दैन । मेरो समाज एउटा नयाँ बर्ष कुरिरहेको बेला अर्कैको न्यू इयरमा म ठमेल पुगेर कसरी कम्मर मर्काउन सक्थे ? त्यसैले पनि म कुर्दैछु मेरो नयाँ साललाई, जुन दिनमा म लगायत मेरो समाज पूरैले नयाँ साललाई स्वागत गर्नेछौं । भब्य र सभ्य स्वागत गर्दै मनाउने छौं, नयाँ साल–२०७४ ।