२०७३ सालको उत्तम शान्ति पुरस्कार रवीन्द्र समीरको कृति ‘भूकम्पमा मल्हमपट्टी'लाई - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

२०७३ सालको उत्तम शान्ति पुरस्कार रवीन्द्र समीरको कृति ‘भूकम्पमा मल्हमपट्टी’लाई



हिमाल पोस्ट /काठमाडौं ,जेष्ठ ६

साहित्यकार रवीन्द्र समीरको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’लाई उत्तम शान्ति पुरस्कार २०७३ प्रदान गरिने भएको छ । नेपाली साहित्यिक पत्रकारिताका हस्ती उत्तम कुवँरको सम्झनामा स्थापित उत्तम कुवँर स्मारक पुरस्कार गुठीले यो पुरस्कार सञ्चालन गर्दै आएको छ । पुरस्कारको राशी ५० हजार रुपैयाँ र ताम्रपत्र छ ।

गुठीका सदस्य सचिव डा. ठाकुर पराजुलीद्वारा प्रकाशित विज्ञप्तिमा भूकम्पका बेलाका विविध घटनामा चिकित्सकको रुपमा सहभागी भएर मानवीय कार्यमा संलग्न भई त्यति बेला अनुभूत गरेका भावलाई सुन्दर, सरल र सहज शिल्पका साथ समाजका सामु प्रस्तुत गरेकाले समीरलाई पुरस्कृत गर्न लागिएको उल्लेख छ । विगत २०४४ सालदेखि निबन्ध, संस्मरण, आत्मकथा, जीवनी जस्ता आख्यानेत्तर कृतिलाई प्रत्येक वर्ष उत्तम शान्ति पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यो पुस्तकको सबै रोयल्टी भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका साहित्यकार समीरले पुरस्कार राशी पनि भूकम्प पीडितलाई नै दिने बताए । उनले भने, ‘पुरस्कारवापत प्राप्त हुने ५० हजार जसका कथा, व्यथा लेखें, उसैलाई दिन्छु ।’