यस्ता छन् जोन्सन एण्ड जोन्सन र भेरोसेल खोपका १४ फरक - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

यस्ता छन् जोन्सन एण्ड जोन्सन र भेरोसेल खोपका १४ फरक



काठमाडौ- कोरोना खोपको विषयमा अहिले विभिन्न चर्चा हुने गरेका छन् । खासगेरी कुन खोप राम्रो भन्नेमा जनमानसमा दुबिधामा रहेको देखिएको छ ।

नेपालमा अहिले उपलव्ध खोप जोन्सन एण्ड जोन्सन र भेरोसेलबारे बजारमा पनि विभिन्न चर्चा हुने गरेको पाइन्छ । यी दुई खोपमा भएका अन्तरबारे जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले १४ बुँदामा लेखेका छन् ।

-जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो ।

– जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ ।

– जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबडी तयार हुन्छ ।

– जोनसन खोपले दुर्लभ रूपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रूपमा बताइएको छैन ।

– जोनसन खोप सामान्य लक्षण रोक्न ७२ %, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ भने भेरोसेल खोप सङ्क्रमण रोक्न ५० – ७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० % प्रभावकारी भनिएको छ ।

– जोनसन खोपलाई अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन / अफ्रिकन देशमा मान्यता दिइएको छ । खोपको व्यापारिक तथा राजनैतिक प्रतिस्पर्धाको कारण अहिले मान्यता जे भए पनि केही समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ ।

– दुवै खोपले कोरोना सङ्क्रमण सरे पनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् ।

– ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ । जुन ३-४ दिनमा ठिक हुन्छ ।

– रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ ।
– तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् ।

– दुवै खोपले कति समयसम्म काम गर्छन् भन्ने निश्चित छैन । समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अवधि थाहा हुन्छ ।

– आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरूको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भए पनि यी दुवै खोप WHO बाट मान्यता प्राप्त र दर्जनौँ देशमा लगाइएका खोप हुन् ।

– डेल्टा भेरिअन्टको लागि दुवै खोप प्रभावकारी छन् ।

– दुवै खोप करोडौँ व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर विकास भएका हुन् ।

– हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यही लगाउनु बुद्धिमानी हुन्छ ।

-जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे