भ्यालेन्टाइन डे ! - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

भ्यालेन्टाइन डे !



दीपक घिमिरे

एकपछि अर्को चुरोटका खिल्ली सल्काउँदै धुवा आकाशतिर फुकिरहेका रनेदाईलाई सोधें “के भो, किन उदास यार ?”

बचेको सानो ठुटो भुईँमा अँचेटेर निभाउँदै भन्यो “भ्यालेन्टाइन डे आयो, उसको बहुत याद आईराको छ ।”

नबुझे जस्तो गरेर सोधेँ “कसको ?”

उ खिस्स हाँस्यो अनि भन्यो “मजाक नगर के यार !”

मैले उसको मोबाइल तिर आँखा पुर्‍याएं, उसले मोबाइल लुकाउन खोज्दै भन्यो “बिहान देखि हेर्दैछु, अनलाइन नै आउदैने ।”

उसले फेरी अर्को खिल्ली चुरोट सल्कायो । नाकका प्वालबाट धुवा निकाल्दै भन्यो “नेपाल जाने कोही छ तिम्रो ?”

मैले मुन्टो दायाँ बायाँ हल्लाउँदै भने “नाई छैनन् यार ! किन र ?”

उसले मोबाइलको स्क्रिनमा भएको फोटो देखाउँदै भन्यो “उसलाई यो आईफोन र यो स्मार्ट वाच पठाउने बिचारमा छु ।”

मैले उसको हातबाट मोबाइल लिए अनि हेरेँ, लामो सास फेर्दै भने “यति महँगो गिफ्ट ! दुई लाख बराबर खर्च गर्ने भैस है ?”

उ फिस्स हाँस्यो , आकाशतिर फर्केर फुरुरु धुवा उडायो अनि भन्यो “प्यारमा पैसाको कुरा आउँदैन बे ! उनी खुसी हुन पर्‍यो ।”

मैले ओठ लेप्राक्क पारेँ । मनमनै हिसाब लगाए, “करिब डेढ लाखको मोबाइल अनि सत्तरी हजारको स्मार्ट वाच ।”

उसको मोबाइलमा म्यासेन्जर कल आयो , उ चुरोटको ठुटो भुईँमा अँचेटेर उठ्यो अनि अलि पर भएको कुर्चीमा बसेर गफमा मस्त हुन थाल्यो ।

रनेदाई ! चार वर्ष अघि अमेरिका छिरेका हुन । उनी उमेरले पैँतिस काटेपनी अहिले सम्म अविवाहित नै छन् । ग्रिनकार्ड भएपछि नेपाल गएर धूमधामसँग बिहे गर्ने सपना देख्न थालेको पनि धेरै भयो तर, अहिलेसम्म कार्ड आएको छैन ।

नेपाल हुँदै प्रेममा परेका रनेदाईले कमाइको केही हिस्सा उनकै प्रेमिकाको लागी खर्चिन्छन् । कहिले सामान त कहिले पैसा ।

पोहोर साल स्कुटी किनिदिएका थिए, त्यो भन्दा अघिल्लो वर्ष सुनका गहना अनि यो वर्ष महँगो मोबाइल अनि महँगै घडी पठाउने सोचमा छन् । तर उनी कहिले हिसाब गर्दैनन् । उताबाट अफर आयो भने रनेदाईले पुर्‍याएरै छाडछन ।

“सुन न भाइ !” रनेदाईले कोट्याउँदै केही सोध्न खोजे ।

“यहाँबाट कुरियर गरेको सामान नेपाल पुग्छ ?” फोन काटेर आएका रनेदाईले कुरियर गरेरै भएपनी भ्यालेन्टाइन गिफ्ट पठाउने सोचमा पुगेको प्रष्टै भो ।

मैले थाहा नभएको कुरामा कसरी सल्लाह दिनु, नबुझे जस्तै गरी भन्दिए “खै त बड्डा ! मलाई त्यति थाहा छैन ।”

छुट्टिको दिन समेत तनावमा देखिएका रनेदाईले विभिन्न साथीहरूलाई फोन घुमाए । अनि अन्त्यमा फेसबुकमा एउटा स्टाटस लेखे “ तुरुन्तै नेपाल जाने कोही हुनुहुन्छ भने प्लिज ! मलाई खबर गर्नु होला । अत्यन्तै जरुरी काम छ । “

स्टाटस पोष्टेर हामी दुईभाई बाहिर निस्कियौ । उनले सधैँ जसो आफ्नो प्रेमिकाको बयान गर्न थाले ।

“मा कसम भाइ ! मलाई पाइन भने मोर्चु भन्चे यार ।” रनेदाईले गफ चुटन थाले । “पहिला आफ्नो खुट्टामा उभियौ भने बिहे गर्छु भनेको हुनाले त्यति बेला बिहे गरिएन, अहिले कार्ड नहुँदा नेपाल जान नसकेर बिहे हुन सक्या छैन तर लास्टै माया गर्चि यार कसम ।”

रनेदाईका कुरा अनुसार उनीहरूको जोडी निक्कै मिलेको थियो । दुवैले एक अर्कालाई खुबै माया गर्थे ।

मोबाइल पसलमा छिरियो, भर्खरै लञ्च भएको आईफोन अनि एप्पलकै स्मार्ट वाच किनियो । गिफ्ट पेपरमा बाधेर काउन्टरमा पैसा तिर्दा रनेदाईको मुहारमा मुस्कान थियो, म तनावमा थिएँ ।

साँच्चै प्रेममा मुल्यको महत्त्व हुँदो रहेनछ । नेपाली रुपैयाँ अनुसार दुई लाख भन्दा माथिको गिफ्ट किनेका रनेदाई मुस्कुराउँदै बाहिरिए, म चैँ बाफरे भन्दै बाहिरिए ।

रनेदाईले अघि लेखेको स्टाटसमा दर्जनौँ कमेन्ट थिए । ती मध्य एक जना पर्सि नेपाल जाँदै रहेछन् । भ्यालेन्टाइनकै दिन प्रेमिकाको हातमा गिफ्ट पुग्ने भएर रनेदाई मक्ख परे ।

आधा घण्टाको दुरीमा बस्ने विजयको डेरामा पुगेर सामान जिम्मा लगाइयो । प्रेमिकाको लागी भ्यालेन्टाइन गिफ्टको चटारो सकिएकोले रनेदाई सुईय सुस्केरा हाल्दै भने “आफू रोएरै भएपनी उनलाई हँसाउन पाउँदा जीवन सफल भएको जस्तै लाग्च् यार । कहिले नेपाल जाउला अनि बिहे गरेर आफ्नो बनाउला भन्ने सपनाले कहिले निदाउन दिँदैन यार ।”

उनी चिन्तित पनि देखिए ।
दैनिक भिडियो कल, लामो म्यासेन्जर च्याट गर्दै दिनहरू बित्दै थिए । सुरुवातीका सातै दिन बाट उनीहरू भ्यालेन्टाइन स्पेसल बनाउँदै थिए ।

“म लास्टै भाग्यमानी हु यार ।” एक्कासि बिस्तराबाट उठेर रनेदाई कोठा भरी मुस्कान छर्न थाले ।

“हैन के भो रन्दाई ?” मैले सिरक भित्रैबाट सोधेँ ।

“विजयले आज प्रपोज डे कै दिन मेरो सामान उनलाई दिएछ । उनले म्यासेज लेख्या छिन । “रनेदाई मेरो नजिक आएर म्यासेज देखाउन थाले ।

“कालु ! तिमीले पठाएको भ्यालेन्टाइन गिफ्ट पाएँ । आई लभ यु मेरो माया ।” उताबाट यस्तै म्यासेज आएको थियो ।

रनेदाईले आज बेलुका रुममा सबैलाई पार्टी दिने भए । उनी यस्ता पार्टी बेला बेलामा दिइरहन्छन् । उता उनी खुसी भएको मौकामा यता हामी रनेदाईको पार्टीमा रमाउने चलन चल्दै आएको छ ।

प्रपोज डेमा सामान दिएर भ्यालेन्टाइन डे स्पेसल बनाउने तयारीमा हामीलाई समेत खुसी पारेका रनेदाई दुई दिन देखि फेरि तनावमा थिए । कामको व्यस्तताले उनी सँग बोल्न पाइएको थिएन । आज छुट्टिको मौका पारेर उनको उदासी बारे सोधे ।

“उ अनलाइन नै आएकी छैन, फोन पनि अफ छ ।” निराश हुँदै रनेदाईले बताए ।

गोजीबाट चुरोट निकाले अनि सल्काएर उस्तै धुवा उडाउन थाले । रनेदाई तनावमा भए भने चुरोट धेरै पिउँछन् ।
उनको सिरानी तिर भएको चुरोटको एस्ट्रेमा भएका ठुटाले प्रस्ट पार्दै थियो कि रनेदाई पिडामा छन् ।

उनले फेरी फोन ट्राई गरे, तर अहँ ! लागेन । फोन स्विच अफ थियो । बिहे गर्ने पक्का भएकी प्रेमिकालाई प्रपोज डेमा गिफ्ट दिएका रनेदाई आज किस डेमा मज्जाले किस गर्ने सोचमा थिए होलान् तर बिचराको त्यो सपना पूरा हुन सकेन । तनावै तनावले बेलुका सुतियो ।

भ्यालेन्टाइन डे ! हरेक प्रेम गर्ने जोडीहरूका निम्ति महत्त्वपूर्ण पर्व । आफ्ना सारा खुसी मारेर प्रेमिका हँसाउन चाहने रनेदाईका निम्ति दसैँ भन्दा महत्त्वपूर्ण दिन । गएका वर्षका भ्यालेन्टाइन डेमा छुट्टि लिएर बस्ने अनि मज्जाले प्रेमिकासँग गफिने रनेदाईले यो वर्षको भ्यालेन्टाइनमा पनि छुट्टि लिए ।

हामी ड्युटी गयौ , बेलुका भ्यालेन्टाइन स्पेसल पार्टी रुममै थियो, अर्गनाईजकर्ता रनेदाई नै थिए । हामी मुख मिठ्याउदै ड्युटी सक्यौँ । बेलुका रुममा पुग्यौँ ।

रनेदाई फिटान भएर बिस्तरामा ढलेका थिए । टेबुलमा बियरका खाली बोतलहरू छरपस्ट थियो । आधा खाएर फालेका मासुका टुक्रा छरपस्ट थिए । कराईमा टन्न मासु थियो, फ्रीजमा दर्जन भन्दा बढी बियर थिए ।

नशाले अचेत बनेका रनेदाईलाई उठाएनौ, हामीले रनेदाईको प्रेमको अझ धेरै सफलताको कामना गर्दै बियर पियौँ, मासु चपायौ । हामी विवाहितहरुका निम्ति यस्ता भ्यालेन्टाइन डे फ्वासे लाग्दथे । खाने रमाउने हाम्रा योजना भित्र पर्दथे । तर रनेदाई जस्ता अविवाहितहरूका निम्ति भ्यालेन्टाइन डे खास दिन थियो । त्यसैले त परदेशमा पनि दसैँ जस्तै रमाइलो गर्दै थिए ।

राती रमाइलो गरेर सुतियो, बिहानै रनेदाई रोएको आवाज मैले सुने । बिस्तरामै ढलेर रोइरहेका रनेदाईको आवाजले अरू साथीहरू पनि बिउँझिए । सबैले एकै साथ सोध्यौ “रनेदाई ! किन रोको ?”

“उ अर्कै सँग हिँडि अरे ! उसको चक्कर गाउँकै केटासँग रहेछ । मेरो गिफ्ट पाएको पर्सि पल्ट उ त्यही केटासँग भागेर बिहे गरी अरे ।” रनेदाई भक्कानिँदै रुन थाले ।

हामी सबै ट्वाँ पर्‍यौ । बर्षौ देखिको प्रेम झुटो ठहरियो । पैसाका लागी रनेदाईलाई माया गरेको जस्तो गर्ने ती केटीको चक्कर अर्कैसँग चलेको बिचरा परदेशमा बस्ने रनेदाईलाई सुईको सम्म थिएन ।

बिचरा रनेदाईलाई भ्यालेन्टाइनकै दिन प्रेमिकाले रुवाएपछि कैयौँ दिनसम्म हाँस्न सकेनन् । आजभोलि हामी रनेदाईलाई भ्यालेन्टाइन डेको बेला जिस्काउन थाल्छौ, उनी भन्छन् “तैट ! के को भ्यालेन्टाइन डे ? परदेशमा हामीलाई एउटा ड्युटी डे अनि अर्को छुट्टी डे ।”