दलहरुको भोट माग्ने संस्कार नै गलत - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

दलहरुको भोट माग्ने संस्कार नै गलत



भदौ २६, काठमाडौं-

निर्वाचनमा उम्मेदवारले विभिन्न आश्वासन दिएर जनतासँग मत माग्छन् । तर, जनकपुर उपमहानगरपालिकाका उम्मेदवार भने अर्को दलको नकारात्मक प्रचार गरेर मत माग्न व्यस्त छन् । जनकपुर मेयरका लागि कांग्रेसबाट मनोजकुमार साह, एमालेबाट लक्ष्मीनारायण भगत, माओवादीबाट चन्द्रशेखर साह, राजपाबाट लालकिशोर साह, संघीय समाजवादी फोरमबाट विष्णुदेव साह मुख्य प्रतिस्पर्धी छन् । प्रचारका क्रममा उनीहरू आफ्ना चुनावी एजेन्डा राख्नेभन्दा विपक्षीको नकारात्मक प्रचारमा व्यस्त छन् ।

 

खासगरी, मधेसी दलले एमालेलाई मधेसविरोधी भएको आरोप लगाउने गरेका छन् । एमालेकै कारण संविधान संशोधन हुन नसकेको उनीहरूको भनाइ छ । संशोधन विधेयक पारित भएको भए मधेसीले अधिकार पाउने हुँदा एमालेले त्यसलाई असफल बनाएको प्रचार हुने गरेको छ । एमालेबाट मेयरका उम्मेदवार लक्ष्मीनारायण भगतले आरोपको प्रतिवाद गर्ने गरेका छन् । मधेसका नाममा मधेस विरोधीहरूले एमालेलाई अनावश्यक आरोप लगाएको उनको भनाइ छ । ‘एमालेलाई मधेसविरोधी भन्नेहरू बाहिरबाट परिचालित छन्,’ उनले भने ।

एमालेले नै वर्षौंदेखि ओझेलमा परेको हुलाकी राजमार्गलाई गति दिएको उनले बताए । तर, मधेसवादी भनिनेहरूले मधेसको विकासका लागि कुनै काम नगरेको उनको दाबी छ । राजपाबाट मेयरका उम्मेदवार लालकिशोर साहले एमाले, कांग्रेस र माओवादी नै मधेसविरोधी भएको आरोप लगाए । मधेसी जनतालाई हक अधिकार दिनबाट वर्षौंदेखि वञ्चित गरेको उनको आरोप छ । ‘मधेसविरोधीहरूले मधेसीको पक्षमा काम गर्न सक्दैनन्,’ उनले भने, ‘मधेसी सहिदहरूको सपनालाई पूरा गर्न आन्दोलनकै रूपमा हामी स्थानीय तह निर्वाचनमा सहभागी भएका हौँ ।’

आफूलाई वैकल्पिक पार्टीको दाबी गर्ने नयाँ शक्तिका उम्मेदवार उमेशकुमार साहले आधुनिक जनकपुर बनाउन आफूले उम्मेदवारी दिएको बताए । जनकपुरको बेथितिबारे आफूलाई पहिलादेखि नै अनुभव रहेको उनको दाबी छ । साहले भने, ‘पुराना नेताहरूकै कारण जनकपुरको विकास ओझेलमा परेको हो, अब यहाँका जनता नेतृत्व परिवर्तन गर्न चाहन्छन् ।’

राप्रपाका तर्फबाट मेयर पदकी उम्मेदवार राजकुमारी साह पनि घरदैलो कार्यक्रममा व्यस्त छिन् । लामो समयदेखि जनकपुरको नेतृत्व पुरुषले गरेकाले आफू परिवर्तनका लागि उम्मेदवार बनेको उनले बताइन् । जनकपुरमा मात्र नभई जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा पनि उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन् । यसपटकको निर्वाचनमा दलहरू आश्वासन बाँड्नेभन्दा पनि आरोप–प्रत्यारोप गरेरै मत मागिरहेको स्थानीयले बताएका छन् । नयाँ पत्रिकाबाट