वडा कार्यलयको नयाँ नियम- जुवातास, धूम्रपान र सूर्ती सेवन प्रतिबन्ध - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वडा कार्यलयको नयाँ नियम- जुवातास, धूम्रपान र सूर्ती सेवन प्रतिबन्ध



म्याग्दी- धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।

वडाका जनप्रतिनिधीहरूको बैठकले जुवातास,धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक रु. १०० र तेस्रो पटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौँ,’ उनले भने ‘जरिवानाबाट संकलन भएको रकम फोहर र दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाई गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौ ।’

घरेलु हिंसा, विवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडा अध्यक्ष छन्त्यालले बताए । जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरुलाई घरायसी, आयआर्जन र विकास आयोजनामा परिचालन गरिने कार्यपालिका सदस्य सिताकुमारी छन्त्यालले जानकारी दिए ।

अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लव र अगुवाहरुसँग समन्वय गरेर निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ । सडक यातायातको सुबिधा नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ । रासस